अग्नि सापकोटा भन्छन्– ‘मन्त्रीले खुलेआम घुसको डिल गरे, ओलीले नैतिकता गुमाए’


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीहरूले ’खुलेआम भ्रष्टाचारको डिल’ गर्नु निर्लज्ज भएको बताएका छन् ।
शनिबार एक दैनिक पत्रिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी घुस ‘डिल’ प्रकरणमा मुछिएको अडियो सार्वजनिक गरेपछि सापकोटाको यो प्रतिक्रिया आएको हो ।
सापकोटाले प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारसम्बन्धी कुरा मन्त्रीहरूलाई ’एक एक थाहा’ भएकाले उनीहरूले घुस डिल गर्ने दुस्साहस गरेको आरोप लगाए । उनले ओली सरकारको एक वर्ष भ्रष्टाचारीलाई संरक्षण गर्दैमा बितेकाले यो पूर्ण असफल भइसकेको दाबी गरे ।
‘मन्त्रीहरूले नै यति निर्लज्ज, नाङ्गो तरिकाले घुसको डिल गर्ने सायद इतिहासमा थिएन,’ सापकोटाले भने । उनले प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न’ भन्ने कुरा ठूला भ्रष्टाचारका कुरा छोप्नलाई मात्रै भएको टिप्पणी गरे ।
सापकोटाले ओली सरकारको कार्यसम्पादन मूल्याङ्कन रिपोर्ट झनै खस्किएको र १०० मा १० नम्बर मात्र दिन सकिने बताए । उनले प्रधानमन्त्री ओलीले सरकारमा बसिरहने नैतिकता गुमाइसकेको पनि उल्लेख गरे ।