धरान उपमहानगरसहित २३ स्थानीय तहले असार मसान्तभित्र पनि ल्याउन सकेनन् बजेट


काठमाडौं । देशभर रहेका ७५३ स्थानीय तहमध्ये ७३० वटा स्थानीय तहले मात्र असार मसान्तसभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
अन्य १२ वटा गाउँपालिका र धरान उप–महानगरपालिकासहित ११ वटा नगरपालिका गरी २३ वटा स्थानीय तहले भने असार मासन्तभित्रै बजेट ल्याउन सकेनन् ।
कुल ४६० गाउँपालिका मध्ये ४४८ अर्थात ९७ प्रतिशत गाउँपालिकाहरुले असार मसान्तसम्म बजेट स्वीकृत गरेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अनुसार १२ वटा गाउँपालिकाहरुमा भने विविध कारणले बजेट स्वीकृत हुन सकेको छैन ।
सबैभन्दा बढी मधेश प्रदेशका ८ वटा गाउँपालिकाहरुले बजेट ल्याएनन् । यस्तै बागमती प्रदेशका २, लुम्बिनी प्रदेशका एक र सुदूरपश्चिम प्रदेशका एक गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।
यस्तै देशभरका ११ वटा नगरपालिकाले पनि बजेट ल्याउन नसकेको पाइएको छ । नेपाल नगरपालिका संघले असार मसान्तसम्म बजेट ल्याउन नसकेको नगरपालिकाहरुको तथ्यांक सार्वजनिक गरेको छ । जसमा कोशी प्रदेशबाट धरान उप–महानगरपालिका र अन्य सबै मधेश प्रदेशको नगरापालिका रहेको छ । मधेश प्रदेशका कुल ७७ नगरपालिकामध्ये ६७ वटाले मात्र बजेट ल्याएको छ ।
बाँकी १० नगरपालिका असार मसान्तसम्म पनि बजेट ल्याउन असफल भएको छ । बजेट ल्याउन नसक्ने नगरपालिकाहरुमा सिरहाको सिरहा नगरपालिका, धनुषाको नगराइन गारपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका, सप्तरीको डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, महोत्तरीको औरही नगरपालिका, रौतहटको देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिका र बाराको निजगढ नगरपालिका रहेको नगरपालिका संघले जनाएको छ ।
नेपालको संविधान र संघीय कानून बमोजिम स्थानीय सरकारहरुले नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र गाउँ/नगर सभामा पेश गरिसक्नु पर्ने र असार मसान्तसम्म स्वीकृत गरिसक्नु पर्ने व्यवस्था छ । स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरुको यो चौथो बजेट हो ।
तोकिएको समयसीमा भित्र बजेट स्वीकृत गर्न नसकेका स्थानीय तहहरुमा अध्यक्ष अस्वस्थ भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व तथा बजेट विनियोजनमा विवाद लगायतका कारण रहेको पाइएको छ । तोकिएको समयमा बजेट ल्याउँदै असार मसान्तभित्र पास भएमा स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन राम्रो मानिन्छ ।