एउटै फार्मबाट एकै सिजनमा ९ हजार कफीका बिरुवा बिक्री

.jpg)
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।
उनले गतवर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थियो । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन् ।
प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए ।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।