भ्रष्टाचार छानबिनको माग गर्दै राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउने

User Image मेयरसाप डेस्क | २०८२ साउन २ गते ०९:१४
Image of https://mayorsap.com/storage/photos/10/rajendra ling.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो १ बजे अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान गर्न अख्तियारको ध्यानाकर्षण गराउने भएको हो । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन बस्नेतले गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय अनुसार आज अख्तियार जान लागेको जानकारी दिए ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कार्बाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।
 


Facebook Comments