स्पेन प्रकरण : सीआईबीले माग्यो दिल्लीस्थित दूतावासबाट विवरण


काठमाडौं । नेपालबाट स्पेनको सेभिल्लामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरू सहभागी भएको घटनाको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय भएको छ ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र पठाएर नेपालबाट स्पेन जानेहरूको भिजिट भिसा आवेदनका कागजातसहितको विवरण मागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको उक्त सम्मेलनमा फर्जी कागजात बनाएर धेरै व्यक्ति स्पेन पुगेको र उतै लुकेको भन्दै संसदमा आवाज उठेपछि गृहमन्त्री रमेश लेखकले असार ३१ मा छानबिन समिति गठन गरेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार, बिचौलियाहरूले फर्जी कागजात बनाएर दिल्लीस्थित दूतावासबाट भिसा लगाई असम्बन्धित व्यक्तिहरूलाई पठाएको आरोप छ । फर्जी डकुमेन्टबारे सूचना चुहिएपछि दूतावासको आग्रहमा ५५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो । यद्यपि, ४९ जना गएको भनिए पनि संख्या दूतावासको जवाफपछि मात्र यकिन हुने समितिले जनाएको छ ।
छानबिन समितिले अध्यागमन विभागबाट स्पेन उडेकाहरूको सूची लिएर राहदानी विभागलाई पनि शंकास्पद व्यक्तिहरूको पासपोर्ट विवरण पठाउन पत्राचार गरेको छ । स्पेन जानेहरूले बालुवाटारस्थित बीएलएस सेन्टरमार्फत कागजात बुझाएका थिए ।