Ad Image

बीपी–पुष्पलालको आदर्शबाट विमुख नेपाली राजनीतिमा तानाशाहको खोजी !

User Image बद्री प्रकाश ओझा | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badri ojha BP Puspalal Smriti.png

कुरो त्यस्तै २०५५ तिरको हो । नारद वाग्लेको एउटा लेख छापियो । उनी २८ साले विद्रोही राजबन्दी हुन् । दृष्टि साप्ताहिक वा यस्तै वाम विचार प्रवाह गर्नेवाला कुनै पत्रिकामा उनको लेख छापिएको हुनुपर्छ ।

उनले एमाले नेता खड्कप्रसाद (केपी) ओलीलाई लक्षित गर्दै भनेका थिए— ओलीजी ! तपाईँ हिलोको फूल हो । अहिले फूल्न पाएँ भनेर आफ्‌नै जरातिर फर्केर हिलोलाई न गिज्याउनुहोला । वाग्लेले उक्त प्रसंगमा २०२८ सालमा झापा विद्रोहमा एक सर्वसाधारण मानिस (जसलाई वामपन्थीहरु सर्वहारा उपनाम दिन्छन्‌) को हत्या प्रसंग उठाएका थिए । भएको के रहेछ भने वाम विद्रोहीहरूले सामन्त ठहर गरिएका व्यक्तिहरुको हत्या गर्दथे । यस क्रममा एकजना राजवंशी थरका गरिबको हत्या गरिएको रहेछ । त्यसपछि कुनै मानिसको धान गोदाममा हत्याबारे विश्लेषण गर्न नक्सलाइड नेपालीहरुको बैठक भएछ । त्यस बैठकमा खड्गप्रसाद ओलीले भनेछन् —बाँस काट्नु अघि यसको फेदमा रहेका स–साना झिक्रा काट्नुपर्छ, नत्र हामी सजिलै बाँस काट्न सक्दैनौं । त्यो मारिएको गरिब सामन्तको झिक्रो हो, उसको सफायालाई सकारात्मक शिक्षाका रूपमा लिई अघि बढौं ।

केहीकेही अशुभ संकेतहरु भने देखिएका छन् । जस्तो कि प्रजातन्त्रको मूल मर्मका रूपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तलाई वर्तमान संविधानले अस्वीकार गरेको छ । 
बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकारलाई संविधानले संकूचित पारिसकेको छ । यसबाट कार्यपालिकाको विशेष अधिकार हनन् भइसकेको छ । यस बीचमा न्यायपालिका र कार्यपालिकाको प्रमुख पनि एउटै मानिसलाई बनाइएको उदाहरण छ । अब आधुनिक लोकतन्त्रको अभ्यासका नाममा संसदको प्रमुख र सरकारको प्रमुख एउटै व्यक्ति हुनमात्र बाँकी छ । त्यसपछि लोकतन्त्रको अन्त्य हुन पनि सक्छ । 

ठ्याक्कै भएको के हो भन्ने त त्यसैबेला बैठकमा बसेकाहरूले  थाहा पाएका होलान् । तर बाहिर यही तथ्य बाहिरियो । त्यसको एक दशक नबित्दै २०३५ तिरै माले पार्टी जन्मियो र ‘२८ सालमा बिद्रोहका नाममा मानिस मार्नु गलत थियो’ भन्ने निष्कर्ष निकाल्यो । सजिलै गल्ती स्वीकार भयो तर मारिएकाहरु त फर्किएनन् । 

मार्क्सवादलाई राजनीतिक आदर्श मानेर हिँडेकाहरु विश्वमा स्थायी रूपमा स्थापित हुन नसक्नुको मूख्य कारण यही हो । उनीहरु आवेगमा मानिसको ज्यान लिन्छन् । त्यसलाई क्रान्तिको नाम दिन्छन् । गरिबका छोराछोरीलाई लडाउँछन् । अझ मिलेर बसेका छिमेकीलाई नै वर्गशत्रु घोषणा गरेर विभाजन गर्छन् । हतारमा मार्छन् र फुर्सदमा पश्चात्ताप गर्छन् ।

‘यसो भयो !’ भन्दा ‘हाम्रा हतियारमा अझै खिया लागेको छैन, विचार गर !’ भनेर गरिब–गुरुवालाई धम्की दिन्छन् । यो रोगबाट नेपाल असाध्यै ग्रसित छ ।

२०५२ सालपछिका बिद्रोहमा पनि त्यस्तै भयो । सेना प्रहरीबाट लुटिएका सबै हतियार माओवादीले बुझाएन । अझ क्रान्तिका नाममा कति पैसा लुटियो भन्ने हिसाब पनि छैन । माओवादी र सात दलबीच सम्पन्न बाह्र बुँदे सहमतिमा उल्लेख भएबमोजिम हडपेको वा लुटिएको व्यक्तिको सम्पत्ति फिर्ता गर्नुपर्ने बुँदामा पनि माओवादीहरु अडिग रहेनन् । 

मारिएका आफन्तहरूसमक्ष माओवादी पार्टीले कहिल्यै माफी मागेन । कुरो उठ्दा उल्टै क्रान्तिमा यस्ता घटना घट्छन्, यसलाई ब्युँझाएर शान्ति सम्झौता ओझेलमा पारे फेरि हतियार उठ्छ भनेर धम्की दिइन्छ । उनीहरुको सम्पत्ति औंल्याउनेको औंला काटिन्छ ।

यसरी ‘लुटको धनमा फूपुको श्राद्ध’ गर्दै आएका अहिलेका राजनीतिक दल र नेताहरू जन्माउन हिलोका दुई आहालले ठूलै संघर्ष गर्नुपरेको थियो । तिनै हिलोका आहालहरू जीवनको उत्तरार्धमा दुःख पाएर जीवन बिताउन बाध्य भए । यस साता तिनै हिलोहरुको स्मृति दिवस पर्छ ।  

विषय हो— बीपी कोइराला र पुष्पलाल श्रेष्ठको ।  

नेपालका समकालीन राजनीतिक पार्टी र तिनका नेताहरू यी दुई शिखर पुरुषलाई सम्झन्छन्, स्मृति दिवस पनि मनाउँछन् । आज तिनै नेताले नै स्थापना गरेका पार्टीहरु फल्दै फुल्दै गएर गठबन्धन नै गरेर सत्ताको बागडोर समालेकाले पनि उनीहरुको स्मरण आवश्यक रह्यो । बीपी र पुष्पलालका विचार अझै पनि प्रासंगिक मानिन्छन् ।   यिनका विचार, दृष्टिकोण र मूल्यहरू लोकतन्त्र, समाजवाद, राष्ट्रियता तथा जनताको प्रतिनिधित्वका विषयमा आज पनि राजनीतिक बहसका केन्द्र बनेका छन् ।  
यहाँ एकदुई प्रश्न उठाउन आवश्यक देखिन्छ :

  •    के वर्तमान राजनीतिक अभ्यास, यिनै विचारधाराका  परिष्कृत निरन्तरता हुन् ? 
       
  •  आजका मूख्य दलहरु खासगरी कांग्रेस र वामपन्थीहरु यिनका मूल भावनासँग कति नजिक छन् ? 
       
  •  के आज बीपी र पुष्पलालका सपनाहरूको अवमूल्यन त भएको छैन ? 

बीपी कोइरालाले नेपालको राजनीतिक समस्याको समाधान राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिवेणी सिद्धान्तबाट मात्र सम्भव हुन्छ, भन्थे । मूलतः उनको सिद्धन्त यिनै बुँदामा आधारित छ । युवा अवस्थामा भारतको स्वतन्त्रता आन्दोलनमा समाहित बीपीले सुरुमा केही समय कम्युनिष्ट बनेपछि त्यस धारबाट अलग भई कांग्रेसको वैचारिक मार्गदर्शन सुरू गरे । उनीलगायतका नेताहरुको नेतृत्वमा भएको आन्दोलनका कारण २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । तानाशाही राणा शासन ढल्यो ।

बीपीले प्रजातन्त्रलाई जनताको जीवनस्तर सुधारको सशक्त माध्यमका रूपमा परिभाषित गरेका छन् । उनको विचारमा समाजवाद भनेको वर्गविहीन समाज स्थापना गर्ने र स्रोत साधनको न्यायपूर्ण वितरण गर्ने प्रक्रिया हो।  उनले कहिल्यै पनि राजनीतिलाई शक्ति प्राप्तिको माध्यमा रूपमा लिएनन् । बरु यसलाई समाज रुपान्तरणको साधनका रूपमा लिए । 

अहिलेको राजनीतिमा यही कुराको कमी छ । नेताहरूले राजनीतिलाई शक्ति आर्जनको साधनका रूपमा मात्र लिए । यदि उनीहरुले यसलाई समाज रुपान्तरणको साधनका रूपमा लिएका भए आज नेताहरू समाजमा यति बदनाम हुँदैनथे । 

बीपीको अर्को विचार भने अहिलेको राजनीतिमा पुरानो भइसकेको छ । त्यो हो, राजतन्त्रप्रतिको उनको अडान । उनले आफ्‌नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्‌—कथंकदाचित प्रजातन्त्र परिपक्व नभई नेपालबाट राजतन्त्र समाप्त भयो भने देशको अस्थित्व संकटमा पर्छ ।  

उनको यो तर्कलाई भने नेपालको राजनीतिले अपरिपक्व साबित गरिदियो । उनका उत्तराधिकारी तथा भाइभतिजाहरुले  नै राजतन्त्रलाई समाज रुपातन्तरणको तगारो देखे । यस कदमले बीपीले भने झैं देशको अस्थित्व संकटमा पर्छ कि पर्दैन भन्ने चाहीँ विवादको विषय छ । 

केहीकेही अशुभ संकेतहरु भने देखिएका छन् । जस्तो कि प्रजातन्त्रको मूल मर्मका रूपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तलाई वर्तमान संविधानले अस्वीकार गरेको छ । 
बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकारलाई संविधानले संकूचित पारिसकेको छ । यसबाट कार्यपालिकाको विशेष अधिकार हनन् भइसकेको छ । 

यस बीचमा न्यायपालिका र कार्यपालिकाको प्रमुख पनि एउटै मानिसलाई बनाइएको उदाहरण छ । अब आधुनिक लोकतन्त्रको अभ्यासका नाममा संसदको प्रमुख र सरकारको प्रमुख एउटै व्यक्ति हुनमात्र बाँकी छ । त्यसपछि लोकतन्त्रको अन्त्य हुन पनि सक्छ । 

वर्तमान अभ्यासले नयाँ तानाशाहको उदयको संकेत गरिसकेको देखिन्छ । त्यसैले बीपीले छोडेको विचारमा केही सहमत हुने आधारहरू खडा हुँदै गएको देखिन्छ । बीपीसँगै नेपालमा पुष्पलालको वैचारिक जगलाई पनि महत्व दिइन्छ । पुष्पलाल श्रेष्ठले नेपालमा मार्क्सवाद, लेनिनवाद र माओवादको अध्ययन गर्दै कम्युनिष्ट आन्दोलनको जग बसाए । विस २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरी उनी पहिलो महासचिव बने। 

उनको दृष्टिमा राजनीति भनेको श्रमिक, किसान, महिलाजस्ता उत्पीडित वर्गको पक्षमा संघर्ष गर्ने माध्यम हो। पुष्पलालको राजनीतिक आदर्श वर्ग संघर्षमार्फत सामाजिक रूपान्तरण थियो। तर उनले लोकतान्त्रिक प्रक्रियालाई पनि सँगसँगै लैजानुपर्ने विचार राखेका थिए । उनी भन्थे— सामन्तवाद विरुद्धको संघर्ष, जनताको राजनीतिक अधिकार स्थापनाको आधार हो। यो संघर्ष लोकतान्त्रिक पद्धतिमा अगाडि बढ्नुपर्छ।

यही कारण पुष्पलालाई जीवनको अन्त्यतिर उनकै समर्थकले सत्तोसराप गरे । आफूबाहेक अर्को पक्षको विचारलाई पश्रय दिनुहुन्न भन्नेहरुले उनको सक्दो बदनामी गरे । यस्तोसम्म आरोप छ कि उनलाई बुढेसकालमा राम्रोसँग मिठो मसिनो खान पनि दिइएन । यसको मूल कारण थियो—प्रजातन्त्रप्रतिको उनको आस्था । 

आज तिनै सराप्नेहरु पालैपालो सत्तामा छन् । त्यो पनि लोकतान्त्रिक पद्धतिबाट । उनीहरु पुष्पलालको खुलेर प्रशंसा गर्छन् । तर आफूहरुले गरेका कर्तुतप्रति अलिकति पनि संकोच मान्दैनन् । 
मूलतः आजका नेताहरु बीपी र पुष्पलालको आदर्शबाट विमुख भइसकेको देखिन्छ । 

लोकतान्त्रिक मूल्यबाट विचलन

बीपीले संवैधानिक शासन, प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता र मानव अधिकारलाई लोकतन्त्रको मेरुदण्ड भनेका थिए । तर आज अध्यादेशमार्फत शासन, सांसद किनबेच, संसदमा सरकारको दमन, विधिको शासनमा हस्तक्षेप जस्ता गतिविधिले ती मूल्यहरू कुण्ठित भएका छन्  । 

राजनीतिक नैतिकतामा ह्रास

तत्कालीन समयमा पुष्पलालले पार्टी र नेतृत्वले शुद्धता, जनताको सेवा र विचारप्रति समर्पण गर्नुपर्नेमा जोड दिएका थिए। तर आज दलहरू वैचारिक अस्पष्टता, सत्ताको भागबण्डा र भ्रष्टाचारमा डुबेका छन् । यस्ता प्रवृत्तिहरूले बीपी र पुष्पलालको आदर्शमाथि घात गर्छ । 

सामाजिक न्यायको निम्छरो अभ्यास

बीपीको समाजवाद र पुष्पलालको वर्ग संघर्ष दुवै सामाजिक समता स्थापना गर्नेतर्फ लक्षित थिए । तर आज प्रजातन्त्र पूनर्वहाली भएको ४२ वर्ष र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि नेताहरुले समाज रुपान्तरणमा लैजान सकेनन् । अझै गरिब, दलित, महिला, जनजाति, मधेसी आदि समुदाय विकासको मूलधारबाट पछाडि छन् । भूमिहीन किसान र युवाको विदेश पलायन दर उच्च छ । फलस्वरुप गाउँघरमा कृषि कर्म घटी जंगलीजनावरको रजगज बढेको छ । ती समुदायका नाममा हिजो जस्तै टाठाबाठाले लाभ उठाइरहेका छन् । 

स्वार्थमा आधारित विदेश नीति 

बीपीले भारत र चीनसँगको सम्बन्धलाई समता र सम्मानमा आधारित हुनुपर्छ भन्ने मान्यता राख्थे । तर आज राष्ट्रिय हितभन्दा व्यक्तिगत वा दलगत स्वार्थका लागि परराष्ट्र नीति प्रभावित भएको आरोप लाग्ने गरेको छ ।

बीपी र पुष्पलाल दुवैले नेपाली समाज रूपान्तरणको मार्गचित्र दिएका थिए—एकले लोकतन्त्रको माध्यमबाट समाजवादको स्थापना र राष्ट्रियताको रक्षा गर्नुपर्ने विषयमा वकालत गरे ।  अर्कोले उत्पीडित वर्गको पक्षमा विचारधारात्मक संघर्षको बाटो देखाए । तर आजको राजनीतिक परिदृश्यमा यिनका विचारहरू औपचारिक सन्दर्भमात्र बन्न पुगेको देखिन्छ ।

वर्तमान राजनीतिले बीपी र पुष्पलालको मूल्य, नैतिकता, जनप्रतिनिधित्व र परिवर्तनको भावना आत्मसात गर्न सकेको छैन भन्ने आलोचना यथार्थ नै देखिन्छ । यिनै विचार र आदर्शहरूलाई व्यवहारमा उतार्न सकेमा मात्र नेपालको लोकतन्त्र सुदृढ, समावेशी र उत्तरदायी बन्छ । 

नत्र उही हो— फेरि अर्को तानाशाहको जन्म हुन्छ । यसले देशलाई पनि खान सक्छ । त्यसैले हिलोमा फक्रेका रंगिला निलकमलहरुले समयमै सोचे राम्रो हुनेछ ।