Ad Image

५ वर्षमै ललितपुर नगर प्रहरीको शैलीमा कायापलट! लाेग्नेस्वास्नीको झगडामा पनि बाेलाउँछन् नगरबासी !

User Image अम्बिका खड्का | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-07-24 at 5.29.00 PM.jpeg

काठमाडौं । गत असार १८ गते ललितपुरको बालकुमारीस्थित एक मार्वल गोदाममा सर्प पस्यो । मोटाइ र लम्बाइ नै ठूलो भएको सर्प देखेर गोदामधनी तर्सिए । उनले आत्तिँदैे ललितपुरका नगर प्रहरीलाई खबर गरे । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले आफ्नो ‘क्विक रेस्क्यू टोली’ लाई घटनास्थलमा पठाए । टोली १० मिनेटमा घटनास्थल पुग्यो ।  सर्पको ‘रेस्क्यु’ गर्यो र चोभारस्थित खोलामा लगेर छोड्यो । सर्प देखेर आत्तिएका पसललेले सोचेभन्दा चाँडो नगर प्रहरीले सर्पलाई त्यहाँबाट हटाएको देखे । सोचेभन्दा चाँडो काम गरेको भन्दै गोदाम धनीले नगर प्रहरीको कार्यालयमा फोन गरेर धन्यवाद समेत दिए ।

१४ नम्बर वडाको दुमिया डाँडास्थित बाटोमा केही समयअघि रूख ढल्यो । स्थानीयबासीले तुरुन्तै नेपाल प्रहरीलाई खबर गरे । नेपाल प्रहरीको टोली घटनास्थलमा पुग्यो । तर रूख ढलेर माथि नै टाँढ परेको देखेपछि ढलेको रूखलाई पूर्ण रुपमा ढालेर व्यवस्थापन गर्न आफूहरुसँग स्रोत साधन नभएको भन्दै नेपाल प्रहरीको टोली फर्कियो । त्यसपछि स्थानीयहरूले ललितपुर महानगरको एप ‘एलएमसी अलर्ट’मा घटनाबारे जानकारी गराए । नगर प्रहरी प्रमुख हाछेथुले तुरुन्तै घटनास्थलमा टोली खटाए । नगर प्रहरीको टोलीले ‘स्काइ लिफ्ट’ प्रयोग गर्यो । रूख काट्न मेसिन प्रयोग गर्यो र पूर्ण रुपमा ढलेको रूखको व्यवस्थापन गरेर फर्कियो ।

ललितपुर महानगरमा पाँच वर्षअघिसम्म नगर प्रहरी देखेपछि मान्छे तर्सिन्थे । डराउँथे । नगर प्रहरी ‘घर भत्काउन आयो कि फुटपाथमा राखेको तरकारी उठाउन’ भनेर सतर्क हुनुपथ्र्यो । फुटपाथ व्यवसायीको भागाभाग हुन्थ्यो । नगरबासीमा नगर प्रहरीप्रति बाहिर डर र भित्र आक्रोश थियो ।

वास्तवमै त्यसबेला नगर प्रहरीको काम नै फुटपाथ व्यवसाय हटाउनु र अनधिकृत संरचनाहरु भत्काउनु मात्र थियो । तर अहिले यो धारणा पूर्ण रुपमा बदलिएको छ । रूख ढल्दा र सर्प आउँदा मात्र होइन्, अहिले कुकुर भुकेर ‘डिस्टर्व’ गर्दा, घरमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा, बच्चा विद्यालय जान नमानेर सम्झाउनु पर्दा, ढल जाम भएर समस्या निम्तिँदा, सडकमा बेवारिसे मावन भेटिँदा, पसलेले मूल्य बढी लिँदा पनि नगरबासी नगर प्रहरीलाई सम्झन्छन् ।

कुनै समय काम नै नहुने नगर प्रहरीलाई अहिले एकछिन पनि फुर्सद छैन । २४ सै घण्टा तैनाथ नगर प्रहरी ललितपुर महानगरबासीका सानादेखि ठूलासम्म गुनासा र समस्या समाधानका लागि खटिएको छ ।

ललितपुर महानगरको नगर प्रहरीमा ५ वर्षको अवधिमा देखिएको यो ठूलो परिवर्तन कुनै जादु भने होइन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पुर्याएको विवेक भने पक्का हो । महानगरको प्रहरीलाई सक्रिय र उपयोगी बनाउन मेयर महर्जनले रिटायर्ड ट्राफिक प्रहरी सिताराम हाछेथुलाई काममा नफर्काएको भए नगर प्रहरी अहिलेजस्तो सक्रिय र जिम्मेवार हुँदैनथ्यो भन्दा फरक पर्दैन । यो परिवर्तन ल्याउन हाछेथुले ट्राफिक प्रहरीमा २९ वर्षसम्म सिकेको ज्ञानले मुख्य भूमिका खेलेको छ ।

लामो समय ट्राफिक प्रहरीको रुपमा सेवा गरेका हाछेथुलाई मेयर चिरीबाबु महर्जनले नगर प्रहरी प्रमुख नियुक्त गर्ने आफ्नो सोचबारे निकट व्यक्तित्वहरुसँग छलफल गर्दै गर्दा छलफलमा प्रश्न उठेको थियो, ‘यो हाछेथु कुन पार्टीको हो ? उनलाई नियुक्त गर्दा भोलि हामीलाई कुनै समस्या पो पर्ने हो कि ?’ तुरुन्तै मेयर महर्जनले जवाफ फर्काएका थिए, ‘हाछेथु कुन पार्टीको हो त्यो त मलाई थाहा छैन । हामीलाई काम गर्ने मान्छे चाहिएको हो । मलाई यति थाहा छ, उसले ट्राफिक प्रहरी हुँदा धेरै राम्रो काम गरेको छ । यो काम गर्ने केटो हो ।’

२०७७ साल भदौ १४ गते हाछेथु नगर प्रहरी प्रमुख नियुक्त भए । उनले आफूलाई ‘काम गर्ने केटो’ को रुपमा प्रमाणित गर्न कुनै कसुर बाँकी राखेनन् । आफूले ट्राफिक हुँदा सिकेको ज्ञानलाई भरपुर प्रयोग गरे । योजना बनाए । आवश्यक स्रोत साधनको माग गरे । नगर प्रहरीलाई तालिम दिए । क्षमता अभिवृद्धि गरेर हाछेथुले  ५ वर्षको अवधिमा नगर प्रहरीलाई स्थानीयबासीको नजिकको सहयोगी बनाए ।

कसरी गर्छ ललितपुरको नगर प्रहरीले काम ?

सिफ्ट अनुसार नगर प्रहरीले २४सै घण्टा काम गर्दै आएको छ । बिहान ५ बजे १५ जनाको एउटा टोली गाडी लिएर निस्किन्छ । राति कतै रूख ढल्यो कि, बिरुवा भाँचिए कि, बिजुलीका तार लत्रिएका छन् कि, कतै लाइन गएको, नेट गएको, ढल जाम भएको, दुर्घटनालगायत कुनै पनि समस्या देखिएका छन् कि भन्ने निरीक्षण गरेर उक्त टोली ७ बजे कार्यालय फर्किन्छ । त्यसपछि ७ बजे ९ जनाको अर्को टोली गाडी लिएर निस्किन्छ । त्यो टोली पनि अघिल्लो टोलीजस्तै समस्या खोज्न भौतारिन्छ र भेटिएका समस्याको समाधान गर्छ । साढे ७ बजे नै अर्को एउटा टोली बजार व्यवस्थापन तथा सडक व्यवस्थापनका लागि निस्किन्छ । ८ बजेसम्म लगनखेलदेखि मंगलबजारसम्म तरकारी बजार राख्न महानगरले छुट दिएको छ । त्यसको निगरानी नगर प्रहरीले गर्छ । फोहोर हुन नदिने, फोहोर भएमा बजार सकिएपछि सफा गर्ने, फुटपाथमा मानिसलाई हिँड्न समस्या हुन नदिने लगायतका काममा लागि नगर प्रहरीको टोली तैनाथ हुन्छ । त्यसैगरी सडकमा ‘वान वे’मा छिर्ने सवारी साधनलाई रोक्ने र फर्काउनेलगायतका काम गर्नका लागि पनि साढे ७ बजेदेखिको टोली खटिन्छ ।

९ बजे अर्को टोली आवश्यकता अनुसारको काममा निस्किन्छ । कोही जेब्रा क्रस र ट्राफिक लाइटमा बस्छन् । नागरिकलाई रातो बत्तीमा हिँड्न नदिने, सचेत गराउने, फोन चलाउँदै बाटो काट्न नदिने, बाटो काट्न समस्या हुनेलाई कटाइदिनेलगायतका काम त्यो टोलीले गर्छ । सडकमा छोडिएको जनावरको व्यवस्थापन, सडक मानवको व्यवस्थापन, सर्पको रेस्क्यू, दुर्घटना, बिजुलीको तार लत्रिएको, ढल जाम भएकोलगायत नगरबासीको गुनासो र समस्या आएअनुसारको काममा ९ बजेकै टोली खटिन्छ ।

ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ नाराअनुसार नै नगरबासीको घरघरमा गएर नगर प्रहरीले समस्या र गुनासा सुन्दै समाधान समेत गर्दै आएको छ । हालसम्म ललितपुर महानगरपालिकाको ४४ हजार घरमा नगर प्रहरी पुगिसकेको हाछेथु बताउँछन् । दिउँसोको एक टोली उक्त काममा समेत खटिन्छ ।

‘क्विक रेस्क्यू टोली’ सधैँ तयारी अवस्थामा हुन्छ । समस्या पर्नासाथ स्कुटर लिएर उक्त टोली घटनास्थल पुग्ने गर्छ । नगर प्रहरीले ‘वातावरण प्रहरी’ समेत परिचाल गरेको छ, जसले वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, बोटविरुवा संरक्षणलगायतका काम गर्छ ।

राति ८ बजेदेखि ११ बजेसम्म एउटा टोली फेरि ‘राउण्ड’मा निस्किन्छ । कुनै गुनासो र समस्या नआएपनि कहीँकतै समस्या छ कि भनेर उक्त टोलीले निरीक्षण गर्छ । ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि २५ जनाको टोली नगर प्रहरीको कार्यालयमै हुन्छन् । जसलाई आवश्यकताअनुसार राति जुनसुकै बेला पनि डिउटीमा खटाइन्छ ।

बिहान ५ बजेदेखि डिउटीमा खटिएको टोलीले दिउँसो ३ बजेसम्म काम गर्छ । ७ र साढे ७ बजेटको टोलीले साँझ ५ बजेसम्म काम गर्छ । बिहानको ९ बजेदेखि काम गर्ने टोलीले साँझको ७ बजेसम्म काम गर्छ । यसरी नगर प्रहरीलाई सिफ्ट अनुसार एउटा सिफ्टमा १० घण्टासम्म काम गर्नेगरी खटाउने गरेको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् ।

हाछेथु आफैँ खटिन्छन् दैनिक १२ घण्टा

५९ वर्ष पुगेका नगर प्रहरी प्रमुख हाछेथु अझै पनि जोशिला छन् । दैनिक कम्तिमा पनि १२ घण्टा महानगरको काममा खटिने हाछेथु हाप्ताको बिदा समेत लिँदैनन् । बिहान साढे ६ बजे घरबाट निस्किने हाछेथु आफ्नो खाना बोकेरै निस्किन्छन् । ७ बजे कार्यालय पुग्छन् । बिहान ७ बजेदेखि ९ बजेसम्म उनी आफैं महानगरका मुख्य–मुख्य क्षेत्रमा ‘राउण्ड’ लगाउन निस्कन्छन् । ९ बजे कार्यालय पुगेर अघिल्लो दिन के–के काम भयो र आज के–के गर्ने भन्ने योजना बनाउँछन् । हरेक हप्ताको आइतबार सबै नगर प्रहरीलाई राखेर उनी त्यही समयमा हप्ताभरीको कामको ‘ब्रिफिङ’ गर्छन् । एक हप्तामा के–के राम्रो काम भयो र के–के राम्रो भएन भनेर भिडियोमार्फत नै देखाउँछन् । व्यक्तिगत रुपमा पनि कसले राम्रो गर्यो, कसले कहाँ राम्रो गर्न सकेन् र अब के गर्नुपर्यो भनेर बुझाउँछन् ।

एक घण्टा कामको योजना सकिएपछि साढे १० बजेसम्ममा खाना खाएर हाछेथु फेरि फिल्डमै निस्किन्छन् । उनलाई कार्यालयमा बसेर आदेश दिन मन पर्दैन् । उनी फिल्डमा पनि अरुलाई आदेश दिएर बस्दैनन् । अन्य नगर प्रहरीहरुसँगै उनी पनि उत्तिकै काममा खटिन्छन् । साढे २ बजेदेखि ३ बजे उनको खाजा खाने समय हो । उनी बाहिरको खाना र खाजा दुवै खाँदैनन् । कार्यालयमा आएर आफैं बनाएर वा बनाउन लगाएर खाजा खान्छन् । ३ बजेदेखि फेरि उनी फिल्डमै खटिन्छन् । ६ बजे कार्यालय फर्किएर उनी एक घण्टा अर्थात ७ बजेसम्म दिनभरका कामको समीक्षा गर्छन् । आफू नपुगेको ठाउँमा अरुले गरेको काम के–कस्तो भयो, बुझ्छन् । ७ बजेपछि कुनै काम परेन भने उनी घर फर्किन्छन् ।

फिल्डको काम फरक होला, कहिले जनप्रतिनिधिहरुको सल्लाह अनुसारका कामहरु आउलान्, तर उनले कामलाई व्यवस्थापन गर्न सेड्युल बनाएका छन् । उक्त सेड्युल अनुसार आफू पनि खटिन्छन् र अरुलाई पनि खटाउँछन् । आफू खटिएपछि मात्र अरुलाई पनि काममा लगाउन सकिन्छ भन्ने हाछेथुको मान्यता छ । 

दक्षता अनुसार दिइन्छ काम, क्षमता अभिवृद्धि गर्न तालिम

२०७७ भदौ अघिसम्म ललितपुर महानगरको नगर प्रहरी व्यवस्थित र सीपयुक्त थिएन । थोरै संख्यामा भएका नगर प्रहरी तालिमबिहीन थिए । समस्या सम्हाल्ने विशेष ज्ञानको कमी थियो । त्यसो त नियुक्ति लिँदा खासै कुनै ट्रेनिङ वा सीप पनि उनीहरुलाई सिकाइएको हुँदैनथ्यो ।  सामान्य परेड गर्न समेत उनीहरुलाई आउँदैनथ्यो । कार्य विभाजनको त कुरै थिएन् । फुटपाथ हटाउन पर्यो भने डाङडुङ जाने, सामान उठाउने प्रवृत्ति थियो । संरचना भत्काउन पर्यो, डाङडुङ जाने भत्काउने गरिन्थ्यो ।

जब हाछेथुले महानगरको कमाण्ड सम्हाले, नगर प्रहरीको कार्यशैली मात्रै फेरिएन, उनीहरूले सीप सिक्न पनि पाए । काम गर्नका लागि सिफ्ट छुट्याइयो । क्षमता र दक्षता अनुसार कार्य विभाजन गरियो । नगर प्रहरीलाई नियमित तालिम दिन थालियो । अहिले ललितपुर महानगरमा भएका नगर प्रहरीमा फरक फरक सीप र क्षमता विकास भएको छ ।

अंग्रेजी बोल्न जान्नेलाई हाछेथुले पाटन दरबार स्क्वायरमा खटाए । बलिया मानिसलाई मोटरसाइकल हटाउनेलगायतका भारी काममा लगाए । क्यामरा चलाउन जान्नेलाई नगर प्रहरीले गरेका राम्रा र नराम्रा कामको फोटो भिडियो कैद गर्न खटाए  । भिडियो इडिट गर्न जान्नेलाई भिडियो इडिटको काममा राखे र अन्य क्षेत्रमा समेत नगर प्रहरीको इच्छा र सीप अनुसार तालिम दिएर सोही अनुसारको काममा लगाए ।

गएको असोजमा भएको डुबानपछि हाछेथुले बाढीमा उद्दारका लागि केहीलाई डुंगा चलाउन सिकाए । रूख काट्न, ढल निकास गर्न, आगलागी भएको ठाउँमा उद्धार गर्न र आगो निभाउन पनि नगर प्रहरीलाई तालिम दिइएको छ । यसरी नगर प्रहरीलाई आवश्यकता र दक्षता अनुसार कार्यविभाजन गरेर खटाउने गरेको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् ।

स्रोतसाधनको कमी हुन दिँदैनन् हाछेथु

ललितपुर नगर प्रहरीसँग अहिले तीनवटा भ्यान छ । ‘क्विक रेस्क्यू’का लागि १० वटा इलेक्ट्रिक स्कुटर छन् । नगर प्रहरीले निशुःल्क रुपमा एम्बुलेन्स सेवा, शव बहान सेवा उपलब्ध गराउँदै आएको छ । आगलागीका लागि दमकल समेत नगर प्रहरी आफैंले चलाउने र आगलागीमा नगर प्रहरी आफैं खटिने गरेका छन् । रूखका हाँगा काट्ने, मन्दिरको माथिल्लो भाग सफाइ गर्ने, बिजुलीको तार मिलाउनेलगायतका काम गर्न चाहिने ‘स्काई लिफ्ट’ पनि नगर प्रहरीसँग छ ।

महानगरले ढल निकासका लागि दुईवटा मेसिन किनेर नगर प्रहरीलाई दिएको छ । ढल व्यवस्थापन पनि नगर प्रहरी आफैँले गर्दै आएको छ । नगर प्रहरीले फोहोरको गाडी आफैंले सञ्चालन गरेको छ । सडकमा फ्यालेको फोहोर तुरुन्तै उठाउनका लागि दुईवटा गाडीसहित नगर प्रहरीको एक टोली दिनभर फिल्डमा खटिन्छ । नगर प्रहरीसँग एस्काभेटर पनि छ । नगर प्रहरीले महानगरमा भएको १०६ वर्ष पुरानो दमकललाई समेत मर्मत गरेर सञ्चालनमा ल्याएको छ । अहिले नगर प्रहरीसँग कुल २१ वटा ठूला सवारी साधन छन् । बाढीको समयमा उद्दारका लागि महानगरले खरिद गरेको ४ वटा डुंगा समेत नगर प्रहरीको जिम्मामा छ । यो वर्ष नगर प्रहरीले ३५ वटा लाइफ ज्याकेटको समेत व्यवस्था गरेको छ ।

समय, परिस्थिति र आवश्यकता अनुसार जिम्मेवारी बुझ्दै जाने र स्रोत साधन पनि जोड्दै जाने गरेको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । ‘ढल जामको काम हामी गर्दैनथ्यौं । धेरै समस्या आएपछि मेसिन किनेर, चलाउन सिकेर ढल निकासको काम पनि गर्न थाल्यौं’, हाछेथु भन्छन्, ‘गएको असोजको बाढीपहिरोले हामीलाई पाठ सिकायो । यो वर्ष लाइफ ज्याकेट, डोरी, डुंगाजस्ता स्रोत साधनका साथै उद्दारमा खटिन आवश्यक तालिम लिएर तयारी अवस्थामा छाै‌ ।’

‘गल्ती गर्नै दिँदैनौं’

ललितपुर महानगरको मुख्य व्यापारिक क्षेत्रमा बिहान र साँझ निश्चित ठाउँ तोेकेर फुटपाथ व्यवसाय सञ्चालन गर्न दिइएको छ । नगर प्रहरीले त्यसको व्यवस्थापन आफैंले गर्छ । तोकिएको क्षेत्र र समय बाहेक व्यवसाय राखेको अवस्थामा भने महानगर प्रहरीले सामान नराख्न अनुरोध गर्छ । पटक–पटक अनुरोध गर्दा समेत नहटाएमा बल्ल नगर प्रहरीले सामान उठाउँछ । तर उठाएको सामान जफत भने गर्दैन् । नगर प्रहरी प्रमुख हाछेथु भन्छन्, ‘नो पार्किङमा गाडी रोक्दा पाँच सय, हजार चिट काटेर छोड्दा हुने ? अनि त्यति सानो ठेला राख्यो भनेर ३५ हजार पर्ने ठेला र सामान नै जफत गर्न त मिल्दैन नि ! उ पनि बच्चा पाल्न दुःख गर्ने मान्छे हो । हामी सम्झाएर पठाउँछौं ।’

फुटपाथ व्यवसायीको हकमा मात्र नभएर अनधिकृत संरचना हटाउँदा समेत ललितपुर महानगरले जबर्जस्ती नगरेको हाछेथुको दाबी छ । अनधिकृत संरचना हटाउन समय तोकेर महानगरले सूचना निकाल्छ । समयअवधिसम्म संरचना नहटाए दैनिक नगर प्रहरीको टोली सम्बन्धित व्यक्तिको घरमा जाने ‘नमस्कार’ गर्ने र किन नहटाउनु भएको हो भन्दै फर्किने गर्छ । यसरी दैनिक नगर प्रहरी जान थालेपछि जिद्दी मानिसले पनि लाजले ‘आफैं भत्काउँछु, अब नगर प्रहरी नपठाउनु होला’ भनेर अनुरोध गर्ने गरेको हाछेथुको अनुभव छ । ‘हामी जसको संरचना भत्काउँदै छौं, उनीहरुले नै चिया खुवाउँछन्, के खाजा खाने भनेर सोध्छन् । हामी दुःख दिएर जबरजस्ती गर्दैनौं । सम्झाएर, बुझाएर उनीहरुलाई मनाएर मात्र काम गर्छौं ।’

‘नो पार्किङ’मा गाडी राख्नेलाई नगर प्रहरीले व्यक्तिगत रुपमा सम्झाउँछ । त्यहाँ गाडी किन नरोक्ने भन्ने कुरा महशुस गराएपछि उसले अन्य स्थानमा पनि ‘नो पार्किङ’मा गाडी राख्दैन भन्ने नगर प्रहरीको विश्वास छ ।

नगर प्रहरीले फोहोर फाल्दै गरेको देखेमा व्यक्तिगत रुपमै सम्झाउने, जथाभावी बाटो काट्न लागेमा सम्झाउने, वान वे मा आएका सवारीलाई सम्झाएर फर्काउने गर्छ । अहिले ललितपुर महानगरपालिकामा भिआईपीहरूको गाडीसमेत ट्राफिक लाइट अनुसार चल्ने गरेको हाछेथु बताउँछन् । ‘हामीले कसैलाई ठूलो, कसैलाई सानो महशुस गराउनु हुँदैन । सबैले नियमको पालना गर्नुपर्छ भन्ने महशुस गराउन भिआइपी आए पनि हामी ट्राफिक लाइट बन्द गर्दैनौं’, हाछेथु भन्छन्, ‘अस्ती गृहमन्त्री (रमेश लेखक)को ३ वटा गाडी आउँदै थियो । रातो बत्ती बल्यो । तीन वटै गाडी रोकियो । म पनि हेरिरहेको थिएँ । मलाई त गृहमन्त्रीको गाडी र सर्वसाधारणको गाडी एउटै लाइटमा रोकिएको देखेर आनन्द लाग्यो ।’

जनप्रतिनिधिको साथ, ट्राफिक र नेपाल प्रहरीसँग निरन्तर समन्वय

ललितपुर महानगरको योजनालाई पूरा गर्ने जिम्मेवारी नगर प्रहरीमा छ । महानगरले योजना बनाउँछ, कार्यान्वयन नगर प्रहरीले गर्छ । कतिपय योजना नगर प्रहरीले पनि बनाउँछन् । त्यसमा जनप्रतिनिधिले आवश्यक सहयोग गर्छन् । सबै काम नियमसंगत हुने भएकाले मेयर उपमेयरबाट नगर प्रहरीको काममा कुनै हस्तक्षेप नभएको हाछेथु बताउँछन् ।

‘जनप्रतिनिधिले बनाएको योजना अनुसार हामी काम गर्छौं । महानगरको नियमलाई हामी कार्यान्वयन गराउँछौं । निष्पक्ष भएर नियमअनुसार काम गर्ने भएकाले मेयरसापले कहिल्यै यो काम गर्नु, नगर्नु भनेर दबाब दिनु भएको छैन्’, हाछेथु थप्छन्, ‘हामीले मात्र राम्रो गर्न खोजेर कहाँ हुन्छ र ? मेयर उपमेयरले राम्रो योजना ल्याउने हो । हामीले नियमअनुसार कार्यान्वयन मात्र गर्ने हो । हामीलाई काम गर्नका लागि चाहिने स्रोत साधन उपलब्ध गराउनु भएको छ । हाम्रो काममा हस्तक्षेत्र गर्नु भएको छैन । हामीले गर्न चाहेका नयाँ काममा समेत साथ दिनु भएको छ ।’

ललितपुरको नगर प्रहरीले जनप्रतिनिधिको साथ पाउनुका साथै नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समेत राम्रो समन्वय गरेर काम गर्ने वातावरण बनाएको छ । चौतर्फी सडकमा खटिएका नगर प्रहरीले सवारी दुर्घटनाको समयमा ट्राफिक प्रहरीलाई बोलाएर जिम्मा लगाउँछन् । चोरीका घटनामा समेत नगरबासीले नगर प्रहरीलाई बोलाउँछन् । त्यस्तो अवस्थामा नगर प्रहरी घटनास्थल गए पनि प्रहरीसँग समेत समन्वय गर्छन् । प्रहरीभन्दा छिटो नगर प्रहरी पुग्ने भएपनि चोरीका घटना प्रहरीले हेर्ने हुँदा चोर समातिए पनि प्रहरीलाई नै बुझाउने गर्छन् ।

कतै रूख भाँचिएको अवस्थामा प्रहरीले थाहा पाए नगर प्रहरीलाई खबर गर्ने, सामानको मूल्य बढी परेको गुनासो प्रहरीमा आएमा प्रहरीले नगर प्रहरीसँग समन्वय गरेर घटना जिम्मा लगाउने गर्छन् । फुटपाथमा व्यवसाय राखेमा, बाटोको गमला कसैले तोडफोड गरेमा ट्राफिकले दोषीलाई समाएर नगर प्रहरीलाई जिम्मा लगाउने गर्छन् । यसरी ट्राफिक र नेपाल प्रहरीसँग नगर प्रहरीको राम्रो सम्बन्ध छ ।