ऋषितर्पणी र रक्षाबन्धन पर्व देशभर मनाइयो

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/AjitkumarJhapa_SunariSaptari_25_.jpg

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व आज देशभर धुमधामसँग मनाइएको छ ।

आज बिहानै स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गरेर र हातमा डोरो बाँधेर यो पर्व मनाइएको हो ।

पौराणिक मान्यताअनुसार, दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षासूत्र बाँधेर जोगाएकाले यो पर्व मनाउन सुरु भएको विश्वास गरिन्छ । 

सोहीअनुसार, आज ब्राह्मण पुरोहितहरूले वैदिक मन्त्रोच्चारणका साथ आफ्ना यजमानको हातमा रक्षाबन्धन (डोरो) बाँधिदिएका छन् ।

यस दिन सप्तऋषिहरूलाई तर्पण दिने भएकाले यसलाई ’ऋषितर्पणी’ पनि भनिन्छ । आजको दिन ११ प्रकारका गेडागुडी मिसाएर बनाइएको ’क्वाँटी’ खाने चलन छ ।

तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने यो पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि लोकप्रिय भएको छ ।

यस अवसरमा काठमाडौंको पशुपति, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड लगायतका धार्मिक स्थलहरूमा विशेष मेला लागेको छ ।


Facebook Comments