नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपा नेता पक्राउ


बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार, कँडेललाई बुधबार चितवनबाट पक्राउ गरी रूपन्देही ल्याइएको हो । उनीमाथि नक्कली प्रमाणपत्र बनाएको र त्यसको कारोबार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
कँडेलले आफूलाई ‘डाक्टर’ बताउँदै आएको र चितवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने गरेको खुलेको छ । उनी यसअघि पनि नक्कली प्रमाणपत्रको विवादमा मुछिएर प्रधानाध्यापक पदका लागि अयोग्य ठहर भएका थिए ।
प्रारम्भिक अनुसन्धानमा उनले नेपाल र भारतका विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाएर विद्यार्थीहरूलाई विदेश पठाउँदै आएको पाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments