अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६ सय भन्दा बढीको मृ*त्यु


काठमाडौं । अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । यस भूकम्पमा १५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले पूर्वी प्रान्त कुनारमा ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको छ ।
भूकम्पको केन्द्रविन्दु जलालाबादबाट २७ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा रहेको थियो, जसको धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म पनि महसुस गरिएको थियो ।
मध्यरातमा आएको भूकम्पले ग्रामीण क्षेत्रका माटो र ढुङ्गाले बनेका अधिकांश घरहरू ध्वस्त भएका छन् । अधिकारीहरूले उद्धार र राहत कार्यका लागि सबै टोली परिचालन गरेको जनाएका छन् । गृहयुद्ध र मानवीय संकट झेलिरहेको अफगानिस्तानका लागि यो भूकम्पले थप चुनौती सिर्जना गरेको छ ।
यसअघि सन् २०२२ मा पनि अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो । गए रातिको भूकम्प त्यसयताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।
Facebook Comments