वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/birgunj-ghantaghar.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिए । ‘‘आज बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेका थियौँ । तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कर्फ्यूको समयावधि थप गरिएको हो ।’’

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्य गेट लगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको बताए ।  

प्रशासनले कर्फ्यू लगाए पनि यहाँका जेनजी समूहले भने विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताको घरमा आगजनीका घटना भने रोकिएका छैनन् । प्रदर्शनकारीले नेपाल टेलिकम वीरगञ्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, वीरगञ्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी पर्सा जिल्ला प्रतिनिधिसभाका सांसद तथा राजनीतिक दलका नेताहरूको घरहरूमा पनि आगजनीका घटना भएका छन् । 


Facebook Comments