सेना परिचालनपछि झापाको जनजीवन सामान्य बन्दै


झापा । देशभर चलेको जेनजी आन्दोलनका कारण तनावग्रस्त बनेको झापाको जनजीवन नेपाली सेना परिचालन भएपछि सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, मंगलबार रातिदेखि सेनाले सुरक्षा गस्ती बढाएपछि अवस्थामा सुधार आएको हो ।
अरिदमन गण चारआलीबाट खटिएको सेनाको टोलीले आज बिहानैदेखि सडकमा ’माइकिङ’ गर्दै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।
सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्य–मुख्य ठाउँमा सेनाले बिनाकारण हिँडडुल गर्नेलाई घर फर्काइरहेको छ । तर, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको छ ।
मंगलबार प्रदर्शनकारीहरूले झापाका एक दर्जनभन्दा बढी सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र नेताका घरहरूमा तोडफोड र आगजनी गरेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको थियो ।
Facebook Comments