‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c5926aa834b.jpg

काठमाडौं । यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् । 

शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । सोही अवसरमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

यस्तै, जेनजीको प्रदर्शनका कारण बन्द भएका यहाँका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । परिषद्का उपाध्यक्ष धमलाले सुरक्षित रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गरे । 


Facebook Comments