वैकल्पिक व्यवस्थापन गरी आजबाट सेवा नियमित गर्दै काभ्रेका स्थानीय तह


काभ्रेपलाञ्चोक । हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् ।
बनेपामा रहेका क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई साँगा प्रहरी चौकीमा स्थानान्तरण गरी सेवा नियमित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आजदेखि क्षतिग्रस्त कार्यालय मर्मत नभएसम्मका लागि ती दुई कार्यालयका सेवालाई नियमित गर्न लागिएको बताए ।
यस्तै क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखाल कार्यालयलाई पनि नजिकै अस्थायी रुपमा भाडामा लिई सेवा नियमित गर्न लागिएको हो । यसअघि दुई कार्यालयका काम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयद्वारा खटाइएको हो ।
जिल्ला सुरक्षा समितिको निरीक्षणपछि पूर्णरुपमा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखालको भवन हटाएर नयाँ बनाउने योजना बनाइने शाहले बताए । यस्तै हिगुवापाटीस्थित प्रहरी चौकीलाई पनि मर्मत नभएसम्म वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गरिएको प्रहरी उपरीक्षक शाहको भनाइ छ ।
यसैगरी प्रदर्शनकारीबाट आंशिक क्षति पुगेको पनौती नगरपालिकाले आफ्नो सेवा आजबाट नियमित गर्ने जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माका अनुसार आजैबाट नगरभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूले सेवा नियमित गर्न अनुरोध गरिएको छ । प्रदर्शनकारीबाट पूर्णरुपमा क्षति पुर्याइएको बनेपा नगरपालिकाले भने आइतबारदेखि स्वास्थ्य शाखाको छुट्टै भवनबाट अत्यावश्यक सेवा सुरु गरेको जनाएको छ ।
सदरमुकाम धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालयहरूको सेवा पनि आइतबार नियमित गराइएको थियो । स्थानीय प्रशासनको प्रारम्भिक विवरण अनुसार प्रदर्शनका क्रममा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ, भने दर्जनौँ सवारी साधनमा आगजनी गरिएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका दुई जनाले काठमाडौंमा ज्यान गुमाएका छन् ।
यसैबीच ‘जेनजी’ आन्दोलनका क्रममा यहाँ रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण आइतबारदेखि सङ्कलन गर्न थालिएको छ । स्थानीय प्रशासनको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिको सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन कार्य थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए ।
उनका अनुसार प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउने छन् भने व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुनेछ । करिब एक हप्तामा जिल्लाको सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्ने उनको भनाइ छ ।
Facebook Comments