सिरहामा क्षति भएका १४ मध्ये १२ वटा प्रहरी युनिट पुनःसञ्चालनमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ca7193b8a37.PNG

सिरहा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका जिल्लाका प्रहरी युनिट पुनः आफ्नो नियमित सेवामा फर्कन थालेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनको दौरान क्षतिग्रस्त भएका १४ प्रहरी युनिटमध्ये १२ वटालाई पुनःसञ्चालनमा ल्याइएको छ । बाँकी रहेका फुलबरिया र बाह्रबिघा अस्थायी प्रहरी बिटहरू चाँडै पुनःस्थापना गरिने जनाइएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार हालसम्म इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, र लहान प्रहरी बिट पुनः सञ्चालनमा ल्याइएका हुन् ।

उनका अनुसार, प्रदर्शनको क्रममा आठ वटा प्रहरी चौकीमा तोडफोड र १० वटा चौकीमा आगजनी भएको थियो । त्यसैगरी, प्रहरीले प्रयोग गर्दै आएका तीन वटा चारपाङ्ग्रे र ६ दुई पाङ्ग्रे सवारीसाधन क्षतिग्रस्त भएका छन् । तीन वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् भने तीन सञ्चार सेटहरूमा पनि क्षति पुगेकोे छ । यसक्रममा नौ जना प्रहरी सामान्य घाइते भएका थिए ।

पुनःस्थापित युनिटहरूमा प्रहरी टोली पुगेसँगै स्थानीय जनप्रतिनिधि र नागरिकहरूले फूलमालासहित स्वागत गरेका छन् । सुरक्षाको अनुभूति र जनसहभागिता दुवै पुनः स्थापना भएसँगै प्रशासनलाई उत्साहित बनाएको छ । प्रहरी नायब उपरीक्षक पासवानले भन्नुभयो, “प्रहरी युनिटहरूलाई सशक्त र जनमैत्री बनाउँदै लैजाने हाम्रो लक्ष्य हो । स्थानीय तह र समुदायको साथमा हामी शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउँदैछौँ ।”


Facebook Comments