पहिरोका कारण मैवाखोला गाउँपालिकाका ११ घर विस्थापित, १२ घर उच्च जोखिममा

एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro-pancdhare.jpg
फाइल तस्बिर

ताप्लेजुङ । अविरल वर्षाका कारण जिल्लाको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन् । वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन् । त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन् भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

यस्तै भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ । वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ । वडा नम्बर ५ को महादेवथान–कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक–रानीवन सडक, रानीवन–साङलुप्पा सडक, रानीवन–साम्तोङ सडक, ओर्खुम–जैवा सडक र फाकुम्बा–यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, तिर्तिरे–खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ ।

दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए । प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन् । अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।


Facebook Comments