सभ्य मुलुकको पहिचानका लागि सडक र ट्राफिक व्यवस्थापन अन्तिम विकल्प
विश्वभरका एनआरएनएले लिए ट्राफिक प्रहरी कन्ट्रोल रूम पुनर्निर्माणको जिम्मा


नेपालको राजधानी काठमाडौं देशको मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको दृष्टिमा नेपालको पहिलो ऐना हो । यहाँबाटै नेपाललाई संसारले नाप्छ, बुझ्छ र मूल्याङ्कन गर्छ । जब कुनै विदेशी पाहुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लन्छन्, उनीहरूले पहिलो पटक देख्ने दृश्य भनेकै सडक र ट्राफिकको अवस्था हो । सडक व्यवस्थित, सफा र सुरक्षित भएमा मुलुकलाई सभ्य भनेर चिनिन्छ । ट्राफिक व्यवस्थापन चुस्त–दुरुस्त भएमा मुलुकलाई अनुशासित, जिम्मेवार र प्रगतिशील भनेर परिभाषित गरिन्छ ।
तर विडम्बना, २०८२ भदौ २३ र २४ गते भएको जेन–जी समूहको आन्दोलनले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आगजनी गरी कन्ट्रोल रूम नै ध्वस्त बनाएको घटनाले नेपाललाई संसारभर नकारात्मक रूपमा प्रस्तुत गरिदियो । सडक सुरक्षामा गर्व गर्नुपर्ने क्षणमा, ट्राफिक नियन्त्रणमा जीवन अर्पण गरेर निरन्तर समर्पित प्रहरीलाई बलिदानी चुकाउनु परेको यो पीडादायी र लज्जास्पद अवस्था नेपाल आमाको गौरवमाथि गहिरो दाग बनेको छ ।
तर, संकटलाई अवसरमा रूपान्तरण गर्ने जोश र संकल्प नेपाल प्रहरीको नेतृत्वमा अझ बलियो रूपमा देखा परेको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ र उनीसँगै खटिरहेका उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राणा मगर, प्रहरी वरिष्ठ उपरीक्षक प्रविन पोखरेल तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले राजधानीको ट्राफिकलाई व्यवस्थित र सुरक्षामुखी बनाउन दिनरात आत्मसमर्पणसहित काम गरिरहेका छन् ।
यसै क्रममा एउटा ऐतिहासिक मोड आएको छ—गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को सक्रियता । अध्यक्ष महेश श्रेष्ठ र महिला संयोजक रश्मि थापा मगरको नेतृत्वमा विश्वभरका एनआरएनए सदस्यहरूले ट्राफिक प्रहरी कन्ट्रोल रूम पुनर्निर्माणको जिम्मा लिएका छन्। यो एउटा भवनको पुनर्निर्माण मात्र नभई सम्पूर्ण मुलुकको सडक सुरक्षालाई नयाँ युगतर्फ उचाल्ने गौरवपूर्ण र ऐतिहासिक अभियान हो ।
रश्मि थापा मगरको अपिल यस अभियानको आत्मा हो । उनी भन्छिन्, “हामी गैर आवासीय नेपाली सङ्घ एनआरएनएले यो ग्रुप त्यो ग्रुप नभनी एक पटकको नेपाली सधैंको नेपाली, हामी सबै एकजुट भएर मातृभूमिको पुनर्निर्माणमा हातेमालो गरौं।”
यो अपिल कुनै सामान्य वाक्य मात्र होइन, संसारभर छरिएका प्रवासी नेपालीहरूलाई मातृभूमिको मुटुमा फर्काउने, नेपाललाई आफ्नै जिम्मेवारी सम्झाउने र एकताको सूत्रमा बाँध्ने अमूल्य आह्वान पनि हो ।
सडक र ट्राफिकः सभ्यताको दर्पण
सडक र ट्राफिक प्रहरी कुनै देशको आधारभूत संरचना मात्रै होइन, त्यो देशको सभ्यता, संस्कार र जिम्मेवारीको प्रत्यक्ष प्रतिबिम्ब हो ।
सडकको गुणस्तर कस्तो छ भन्ने हेरेरै पर्यटकले मुलुकको विकासको र त्यो देशको नागरिकको स्तर अनुमान गर्छन् ।
ट्राफिक व्यवस्थापनको दृढता र संवेदनशीलता कस्तो छ भनेर हेरेरै अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अनुशासन र शासकीय क्षमताको मूल्याङ्कन गर्छ ।
अन्तर्राष्ट्रिय समुदायले नेपालको सार्वजनिक अनुशासन कस्तो छ भनेर हेरेरै समाज सभ्य हो वा असभ्य भन्ने निष्कर्ष निकालिन्छ ।
नेपाललाई सभ्य मुलुकको पहिचान दिलाउन अब सडक र ट्राफिक व्यवस्थापनलाई उच्चतम स्तरमा पुर्याउनुको विकल्प छैन ।
ट्राफिक प्रहरी र प्रवासी नेपालीको साझा ऐतिहासिक पहल
आज प्रारम्भ भएको यो अभियान केवल संरचना निर्माण मात्र होइन, राजधानी काठमाडौँको सम्पूर्ण ट्राफिक व्यवस्थापन र प्रणालीलाई डिजिटल, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रुपान्तरण गर्ने रणनीतिक कदम हो ।
प्रहरी प्रशासन आफ्ना दायित्व, ईमान र आत्मसमर्पणसहित सडकमा खटिरहेको छ ।
प्रवासी नेपालीहरू आफ्नो श्रम, पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सीप लिएर मातृभूमिलाई सशक्त बनाउन तयार छन् ।
यसरी प्रहरी र प्रवासी नेपालीबीचको साझेदारीले केवल काठमाडौँ मात्र होइन सम्पूर्ण नेपाललाई सभ्य, व्यवस्थित र सुरक्षित मुलुकको रूपमा चिनाउनेछ ।
सरकारको दायित्व र अन्तर्राष्ट्रिय दबाब
अब प्रश्न उठ्छ– जब प्रहरी र प्रवासी नेपाली समुदायले यस्तो ऐतिहासिक पहल गरेका छन् भने नेपाल सरकार मौन बस्न कसरी सक्छ?
नेपाल सरकारले अब तात्कालीन र दीर्घकालीन रणनीतिहरू अघि सार्नैपर्छ:
१.तात्कालिक कदम
रामशाहपथको ध्वस्त कन्ट्रोल रूमलाई अत्याधुनिक प्रविधिसहित पुनर्निर्माण गर्नु ।
ट्राफिक प्रहरीलाई आवश्यक पर्ने डिजिटल उपकरण, सिसिटिभी नेटवर्क र स्मार्ट कन्ट्रोल प्रणाली तत्काल उपलब्ध गराउनु।
२.मध्यमकालीन कदम
सम्पूर्ण उपत्यकामा स्मार्ट ट्राफिक लाइट प्रणाली र डिजिटल नियन्त्रण व्यवस्था विस्तार गर्नु ।
सार्वजनिक यातायातलाई व्यवस्थित र वातावरणमैत्री बनाउन ठोस नीति लागू गर्नु ।
३.दीर्घकालीन कदम
सम्पूर्ण नेपालमा अन्तर्राष्ट्रिय स्तरको सडक र ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्नु ।
शिक्षामार्फत ट्राफिक सचेतना अभिवृद्धि गर्नु र प्रत्येक नागरिकलाई ट्राफिक नियमलाई जीवन संस्कारको रूपमा आत्मसात् गर्न प्रेरित गर्नु ।
अन्तर्राष्ट्रिय समुदायले नेपाललाई मूल्याङ्कन गर्ने आधार नै सडक र ट्राफिकको अवस्था हो । यसलाई सुधार्न सरकार ढिलो गर्छ भने नेपाल फेरि पनि असभ्य र अव्यवस्थित मुलुकको सूचीमा मात्रै सीमित हुने जोखिम छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको पुनर्निर्माण कार्य केवल एउटा भवन निर्माण होइन, यो नेपालको छवि पुनर्स्थापना गर्ने ऐतिहासिक अवसर हो । प्रहरी नेतृत्वको समर्पण, एनआरएनएको ऐतिहासिक योगदान र विश्वभरका नेपालीहरूको ऐक्यबद्धता नै यो अभियानको मेरुदण्ड हो ।
यसकारण, यो लेखमार्फत नेपाल सरकारलाई दृढ आव्हान गर्दछु । अब समय आयो-राजधानी मात्र होइन, सम्पूर्ण मुलुकको सडक र ट्राफिक व्यवस्थापनलाई विश्वकै उत्कृष्ट स्तरमा उचाल्ने ऐतिहासिक निर्णय कार्यान्वयन गरी देशको गौरव र अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने साहसिक र निर्णायक कदम अघि बढाउने ।
नेपालले सभ्य मुलुकको पहिचान बनाउन अब ढिला गर्नु हुँदैन । संकटलाई अवसरमा रूपान्तरण गर्ने यो महत्वपूर्ण क्षण गुमाउने सरकारसँग कुनै अधिकार छैन ।
Facebook Comments