तीन दिनमै १ लाख ३८ हजारभन्दा बढी यात्रुले छाडे काठमाडौं


काठमाडौं । बडादसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । घटस्थापना पछिका तीन दिन (असोज ६, ७ र ८ गते) मा १ लाख ३८ हजार २ सय ९६ यात्रुले उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार अध्ययन, व्यापार र रोजगारीका लागि आएकाहरू दसैँ मनाउन घर जान थालेकाले थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिनेको चाप बढेको हो ।
यात्रुको चाप बढे पनि मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा यातायात आवागमनमा समस्या आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पहिरोका कारण सवारी साधन घण्टौँसम्म बाटोमा रोकिनुपर्दा समयमै बसहरू काठमाडौं आउन नसकेको र यात्रुलाई गन्तव्यसम्म पठाउन कठिनाइ भएको बताए ।
गोँगबुस्थित राष्ट्रिय बसपार्क (नयाँ बसपार्क) बाट बाहिरिने बसको सङ्ख्या पनि दोब्बर भएको छ । लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अरू समयमा दैनिक औसतमा २५० बस बाहिरिने गरेकोमा अहिले दैनिक ५०० बस बाहिरिन थालेको जानकारी दिए ।
यात्रुको सहजताका लागि ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ ।
Facebook Comments