दशैं सुरु भइसक्दा पनि भोटखोला गाउँपालिकामा पुगेन चामल


संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको हटियागोला खाद्य डिपोमा यो दसैँमा अझै चामल पुगेको छैन । हटियागोलाको खाद्य डिपोमा खाद्यान्य ढुवानी नभएपछि उपभोक्ता मर्कामा परेका छन् ।
दसैँ सुरु भइसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुदानको चामल पठाउन नसकेको हो । पहिरोका कारण उत्तर दक्षिण कोशी राजमार्गअन्तरर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको मकालु गाउँपालिका–२ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा सडक अवरुद्ध भएपछि चामल ढुवानी गर्न नसकिएको जनाइएको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत जेठ ६ को पहिरोले भोटखोला–४ बरुण र गत भदौ १५ को पहिरोले सडक बगाउँदा यातायात र खाद्यान्य ढुवानी नभएको हो ।
पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध हुँदा भोटखोलामा दसैँअघि खाद्यान्न ढुवानी गर्न नसकिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछदेर भोटेले बताए । हटियागोलाको खाद्य डिपोमा एक वर्षदेखि चामल ढुवानी हुन सकेको छैन ।
दुर्गम उत्तरी क्षेत्र भोटखेला क्षेत्रमा आलु र कोदो, फापर मात्र उत्पादन हुँदै आएको छ । उक्त खाद्यान्नले तीन महिना मात्र खान पुग्ने स्थानीय बताउँछन् । यहाँका अधिकांश स्थानीय खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।
सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्वीन्टल र उत्तरी क्षेत्र भोटखोलामा एक सय पाँच क्वीन्टलको कोटा तोकिएको छ । सदरमुकाम खाँदबारीमा सुपथ मूल्य पसल सञ्चालन हुँदा भोटखोलामा भने चामल अभाव भएको हो ।
Facebook Comments