मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले खर्च कटौती र मितव्ययिता मार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाहरूको पुनर्निर्माण अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकायका प्रमुखहरूसँगको बैठकमा मन्त्री खनालले वर्तमान अन्तरिम सरकारको प्राथमिकता स्पष्ट पारे । उनले भने, “युवाहरूको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ ।”
मन्त्री खनालले आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अनुपयुक्त खर्च कटौती र मितव्ययिताबाट पुनर्निर्माण गर्ने तथा आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने बताए ।
बैठकमा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, जापान, दक्षिण कोरिया, बेलायत, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरूलगायत विकास साझेदारका प्रतिनिधिहरूले नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।
विकास साझेदारहरूले चालू आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रमका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।
Facebook Comments