सकियाे माओवादी केन्द्रीय समिति बैठक, सबै नेताको सम्पत्ति सार्वजनिक गरिने

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d65ea764f39.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको बिहीबार सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको छ ।

बैठकले प्रचण्डको प्रस्ताव अनुसार केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाएको छ । यससँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि सदर भएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले महाधिवेशन चुनावपछि गर्नुपर्ने र अध्यक्ष प्रचण्डले कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए । उपमहासचिव जनार्दन शर्माले हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । यी दुवै प्रस्ताव अस्वीकृत भएका छन् ।

बैठकमा नेताहरूको जीवनशैली र सम्पत्तिमाथि गम्भीर प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने क्रममा सबै नेताहरूको सार्वजनिक गर्ने घोषणा गरेका थिए । उनले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने र त्यसका लागि सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूले नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न स्वतन्त्र व्यक्तिको सहभागितामा आयोग गठन गर्ने प्रस्ताव राखेपछि प्रचण्डले उक्त घोषणा गरेका हुन् । प्रचण्डले हलमा उठेका विषयलाई गम्भीरतापूर्वक लिई अगाडि बढ्ने बताएका छन् ।


Facebook Comments