धनगढी–दिपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण


गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार गोदावरी नगरपालिका–८ स्थित जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पुल निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
पुल निर्माण कार्य सकिएर अब कालोपत्रे र खोला किनारमा तटबन्ध को काम मात्र बाँकी छ । दुई पुल निर्माणका लागि रु तीन करोड १५ लाख को लागतमा गत वर्षको पुसमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले काममा प्राथमिकता दिएकाले म्याद थप गरिएको छ ।
यो द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले–हाटखोलीसम्मको १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रेको काम अघिल्लो आर्थिक वर्षमै सम्पन्न भइसकेको थियो ।
द्रुतमार्गको औपचारिक सर्भे विसं २०६४ मा भए पनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ ।
यो सडक धनगढीबाट खुटिया–बिपीनगर हुँदै दिपायलसँग जोडिने छ र हाल दिपायलसम्म ट्र्याक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको छ ।
Facebook Comments