पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb739da30b9.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिका–३ स्थित देवी माध्यमिक विद्यालयको भवन ठेक्का प्रक्रिया गैरकानूनी ढंगले सम्पन्न गरिएको प्रमाण फेला परेपछि अख्तियारले आइतबार आरोपपत्र दायर गरेको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णलाई आरोपी बनाइएको छ ।

अख्तियारका अनुसार, आरोपितहरूले राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने बोलपत्र आह्वान र स्वीकृतिको सूचना निकाल्दै ननिकाली ’सिटी पोष्ट राष्ट्रिय दैनिक’ नामक सीमित पत्रिकामा देखाएर ठेक्का प्रक्रिया अघि बढाएका थिए ।

उनीहरूले आपसी मिलोमतोमा झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई झुट्टा बील र भरपाइमार्फत २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको प्रमाण भेटिएको छ ।

आयोगले यो कार्य सार्वजनिक खरिद ऐनको गम्भीर उल्लंघन र नगरपालिकालाई आर्थिक हानि पुर्याई व्यक्तिगत लाभ लिने उद्देश्यले गरिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ ।


Facebook Comments