कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।
फ्लडलाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुई पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएका हुन् । पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइ सकिएकाले दुई वटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत असोज २३ गते निर्माणाधीन अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापिट र फ्लडलाइट जडान गरी सक्ने प्रतिबद्धता जनाएका थिए । प्यारापिट निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेका छन् । एनपिएल आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ ।
सरकारले गुरुयोजना स्वीकृत गरी आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को गत असोज ३० गतेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब रु १० अर्ब बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको थियो ।
Facebook Comments