हेटौंडा उप-महानगरपालिकाले तिहार लक्षित बजारका लागि तोक्यो तीन स्थान


हेटौंडा । यस वर्ष हेटौंडा उप-महानगरपालिकाले तिहार लक्षित बजारका लागि तीन स्थान तोकेको छ । विगतका वर्षहरूमा उप-महानगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा यस्ता बजार राख्न अनुमति दिँदै आएकोमा यस पटक भने राप्ती रोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको खाली स्थान, हेटौंडा २ स्थित संगमचोक र फरेष्टिस्थित खुला स्थानमा मात्र अनुमति दिइएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।
यद्यपि, फरेष्टि अगाडिको खाली जग्गामा व्यापारिक चहलपहल नहुने देखिएपछि व्यापारीहरुले उक्त स्थानमा जान मानेनन् । हेटौडा अस्पताल परिसर क्षेत्र र संगमचोकमा मात्रै तिहार लक्षित बजार राखिएको छ । त्यसैगरी उद्योग वाणिज्य संघका अगाडि डोकोमा फूलहरू मात्र बिक्री गर्न अनुमति दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
तिहार बजारमा फूल, फलफूल, भाइ मसला, लक्ष्मी पूजाका सामग्री, ध्वजापताका विक्रीका लागि राखिएका छन् । भाईटिका तथा लक्ष्मी पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, मसला, फलफूल लगायतका सामानहरू किन्न ग्राहकहरुको चहलपहल सुरु भएको छ । असोज ३१ गतेदेखि सञ्चालनमा आएको तिहार लक्षित बजार एक सातासम्म चल्नेछ ।
तोकिएको क्षेत्रमा तोकिएको समयावधि लागि व्यवसाय सञ्चालन गर्न कुनै शुल्क नलाग्ने प्रवक्ता न्यौपानेले बताए । बजारलाई व्यवस्थित बनाउनका लागि उप-महानगरपालिकाले विगतका वर्ष देखि नै स्थान निर्धारण गर्ने गरेको छ । बजारमा नगर प्रहरीले निगरानीका साथै सुरक्षा प्रदान गरिरहेको छ ।
Facebook Comments