राष्ट्रिय भवन संहिता लागू, काडाइका साथ कार्यान्वयन गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
७५३ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ सिस्मिकजोनिङ्ग म्याप तयार
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । राष्ट्रिय भवन संहिता परिमार्जन गरी कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।
नयाँ संहितामा पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ ।
संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुङ्गा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउन सक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे ।
परिमार्जित कोडमा ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ सिस्मिकजोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ । माटोको वर्गीकरणमा सुधार गर्दै काठमाडौं उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ । नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दबाव र माटोको दबाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ ।
Facebook Comments