गैँडाकोटमा डेरा गरी बस्ने युवती आफ्नै कोठामा मृत भेटिइन्
सिरकले छोपिएको अवस्थामा शव
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १०:३१
नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक २४ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ । गुल्मीको मुसिकोट गाउँपालिका–९ स्थायी घर भई गैँडाकोटमा डेरा गरी बस्दै आएकी बबिता सापकोटा आफ्नै कोठामा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार बबितासँग केही दिनदेखि सम्पर्क हुन नसकेपछि उनका दाजुले घरबेटीलाई खबर गरेका थिए । घरबेटीले प्रहरीलाई जानकारी दिएपछि स्थानीय जनप्रतिनिधि र आफन्तको उपस्थितिमा बाहिरबाट लगाइएको ताल्चा फोडेर हेर्दा उनी खाटमा मृत भेटिएकी थिइन् । उनको शवलाई सिरकले छोपिएको अवस्थामा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले घटना प्रकृति हेर्दा हत्या भएको हुनसक्ने सङ्केत गरेका छन् । उनका अनुसार मृतकको टाउको, घाँटी र दाहिने हातको नाडीमा धारिलो हतियारको चोट देखिएको छ भने अनुहारमा निलडामहरू रहेका छन् ।
मृतक सापकोटाको तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएपछि उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत फागुन १० गते मात्रै गुल्मीबाट आफ्नो डेरा फर्किएकी थिइन्, त्यसयता माइती पक्षसँग सम्पर्क विच्छेद भएको थियो ।
घटनाको गम्भीरतालाई हेर्दै प्रदेशस्तरीय अनुसन्धान टोली र तालिमप्राप्त कुकुरसहितको विशेष दस्ता परिचालन गरिएको छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र अपराधी चाँडै कानुनी दायरामा आउने जनाएको छ ।
Facebook Comments