Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जैमिनीका मतदाता भन्छन्, ‘बाँदर नियन्त्रणको स्पष्ट योजना ल्याउनेलाई मात्र भोट’

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते ०७:०५
Image of https://mayorsap.com/storage/photos/shares/badar1-1200x560.jpg

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।

जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको उनले बताइन् । बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाइ छ । टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउछिन् ।

“बाँदरले गाउँमा बस्न गाह्रो बनाइ सक्यो, न बारीका बाली राम्रो हुन दिन्छ, न घरमा राखेका सरसामान सुरक्षित हुन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ र ?” उनले भनिन्, “पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो ।”

स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताइन् । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ । घर छोडेर मेलापातमा जाँदा एक÷दुई जना घर कुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।

उनले भनिन्, “पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुने खानेहरु सबै सहर बजार गइसके, गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन्, पहिले पहिले गाउँमा धेरै मान्छेहरु भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ ।

बरेङ–१ तमबहादुर विकले  जनताको माग र आवश्यकतालाई बुझेर काम गर्ने नेतालाई भोट दिने बताए । धेरै थरिका नेताहरु भोट माग्न आइरहेको उनको भनाइ छ । यसपालि किसानका समस्यमा बुझ्ने उम्मेदवारलाई भोट दिने उनको भनाइ छ । 


Facebook Comments