निर्वाचनका लागि देशभरका अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते ०७:५५
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।
आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि आग्रह गरेको जनाएको छ। साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जनाएको छ। मतदानको दिनअघिपछि गरी तीन दिन सार्वजनिक बिदा दिने सिफारिसअनुसार नेपाल सरकारबाट निर्णय भइसकेको पनि आयोगले उल्लेख गरेको छ।
मतदान प्रक्रियालाई व्यवस्थित बनाउन मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सरकारी संरचना फागुन १९ देखि २१ गतेसम्म उपयोग गर्न आवश्यक समन्वय गरिएको आयोगले जनाएको छ।
आयोगले निर्णयअनुसार आवश्यक सहयोग सुनिश्चित गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै निकायलाई आग्रह गरेको छ।
Facebook Comments