विश्वकप फाइनलको एउटै टिकट १२ लाख, ट्रम्पले बाँड्छन् पुरस्कार (भिडियो समाचार)

आकर्षक बाकसमा राखेर रंगशाला लगिँदै ट्रफी, विश्वकप उपाधि बाहेक यी ५ विधामा पनि बाँडिने छ अवार्ड

User Image मेयरसाप डेस्क | २०८३ असार ३१ गते ११:५१
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-18-114900.png

पाँच सातादेखि विश्वलाई रोमाञ्चित बनाएको फिफा विश्वकप अब अन्तिम निष्कर्षमा पुग्दैछ । भोलि अर्थात आइतबार मध्यरातमा अमेरिकाको न्युयोर्कमा हुने उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर नयाँ इतिहास लेख्ने लक्ष्यमा छ भने स्पेन १५ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च सिंहासनमा फर्किने दाउमा छ ।

फाइनलअघि सबैभन्दा धेरै चर्चा भइरहेको विषय भने विश्व फुटबलका महानायक लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको पुस्तान्तरणको प्रतिस्पर्धा हो । सन् २००७ मा मेस्सीले शिशु यामाललाई काखमा राखेर नुहाइदिएको तस्वीरले अहिले फेरि सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । १९ वर्षपछि उनीहरू विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा आमनेसामने उभिएका छन् । यही भावनात्मक संयोगले पनि फाइनललाई झनै विशेष बनाएको छ ।

फाइनल खेल हेर्न विश्वका शक्तिशाली नेताहरू पनि रंगशालामा उपस्थित हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेल प्रत्यक्ष हेर्ने कार्यक्रम तय भएको छ । उनी फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्नेछन् । यता अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई भने राष्ट्रपतिको निवासमै बसेर टेलिभिजनबाट खेल हेर्नेछन् ।
मौसमलाई लिएर देखिएको चिन्ता पनि अहिले हट्दै गएको छ । क्यानडाको डढेलोबाट फैलिएको धुवाँका कारण न्युयोर्क क्षेत्रमा केही दिन वायु प्रदूषण बढेको थियो । तर मौसमविद्हरूले फाइनलका दिन मौसम अनुकूल रहने अनुमान गरेका छन् । खेल हेर्न ८० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने अपेक्षा गरिएको छ ।
यसपटकको फाइनल अर्को कारणले पनि ऐतिहासिक बन्दैछ । विश्वकप इतिहासमै पहिलोपटक सुपर बाउल शैलीको हाफटाइम शो आयोजना हुँदैछ । म्याडोना, जस्टिन बिबर, शकिरा, बीटीएस, बर्ना ब्वाय र कोल्डप्लेसहितका विश्व चर्चित कलाकारले प्रस्तुति दिने तयारी गरेका छन् । फुटबलसँगै मनोरञ्जनको महाउत्सव पनि एकैसाथ देख्न पाइनेछ ।

फाइनलको टिकट मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ । अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो टिकट यही फाइनलको बनेको छ । टिकटको न्यूनतम मूल्य ७ हजार ५ सय ९५ अमेरिकी डलर अर्थात ११ लाख ७२ हजाररुपैयाँ पुगेको छ भने औसत खरिद मूल्य ११ हजार ३ सय २७ डलर रहेको बताइएको छ । 

यता फिफाले यस संस्करणका लागि कीर्तिमानी ७२ करोड ७० लाख अमेरिकी डलर पुरस्कार राशि छुट्याएको छ । विजेता टोलीले ५ करोड अमेरिकी डलर करिब ७ अर्ब ७१ करोड ६० लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर हात पार्नेछ । यससँगै गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्ड पनि वितरण गरिनेछ । सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटको दौडमा अहिले लियोनल मेस्सी अग्रस्थानमा रहेका छन् ।

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी परम्पराअनुसार विशेष रूपमा तयार गरिएको लुइस भिटोनको आकर्षक बाकसमा रंगशालामा ल्याइनेछ । फाइनल खेल सञ्चालनको जिम्मेवारी स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचले सम्हाल्नेछन् ।


Facebook Comments