रास्वपाको स्वकीय सचिव नियुक्तिमा कडा मापदण्डः खुला प्रतिस्पर्धाबाट नियुक्ति, आफन्तलाई पूर्णरुपमा निषेध

User Image मेयरसाप डेस्क | २०८३ साउन ६ गते १२:४८
Image of https://mayorsap.com/storage/photos/shares/rabi-balen_2.jpg

सरकारले सांसदलाई शाखा अधिकृतसरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेलगत्तै रास्वपाले त्यसलाई पारदर्शी र जनउत्तरदायी बनाउने भन्दै कडा आन्तरिक निर्देशन जारी गरेको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा सांसदले आफ्नै परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ।

यति मात्र होइन, नियुक्त हुने व्यक्ति अन्य सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन जागिरमा हुन नहुने, दोहोरो सुविधा लिन नपाउने र सांसदको पदीय दायित्वमा प्रभाव पार्ने कुनै पनि प्रकारको स्वार्थ बाझिने अवस्थाबाट मुक्त हुनेपर्ने सर्त पनि राखिएको छ । 

रास्वपाले स्वकीय सचिवको नियुक्ति बन्द कोठाभित्र होइन, खुला विज्ञापन र प्रतिस्पर्धाबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै सांसदले एउटै ढाँचामा सार्वजनिक रूपमा आवेदन माग्नुपर्नेछ। राज्यकोषको रकम दुरुपयोग हुन नदिन पार्टीले अझ कडा व्यवस्था पनि गरेको छ। स्वकीय सचिवको तलब सिधै बैंक खातामा जम्मा हुनेछ। तलबबाट रकम कट्टा गर्ने, कागजी सचिव खडा गरेर सुविधा लिने वा कुनै पनि आर्थिक हिनामिना गरेको पाइए पार्टीको अनुशासन समितिले तत्काल कारबाही गर्ने चेतावनी दिइएको छ।

यस्तै, स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभए, पदीय आचरण उल्लंघन गरे वा गोपनीयता भंग गरे सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराएर जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था पनि रास्वपाले गरेको छ।


Facebook Comments