बाघको सङ्ख्या बढेर ४२९ पुग्यो; पर्सा र बाँकेमा उत्साहजनक वृद्धि, बर्दियामा घट्यो

User Image मेयरसाप डेस्क | २०८३ साउन १३ गते १२:३२
Image of https://mayorsap.com/storage/photos/shares/tiger.png

काठमाडौं । नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई ४२९ पुगेको छ । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक गर्दै बाघको सङ्ख्या अघिल्लो गणनाको तुलनामा ७४ ले बढेको जानकारी दिएको हो ।

यसअघि सन् २०२२ (वि.सं. २०७८) मा गरिएको गणनामा नेपालमा बाघको कूल सङ्ख्या ३५५ रहेको थियो । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज बाघको सबैभन्दा ठुलो बासस्थानका रूपमा कायमै छ । चितवनमा बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ ।

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा ठुलो सुधार आएको छ, जहाँ ४१ बाट बढेर ७१ पुगेको छ । बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट बढेर ५१, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट बढेर ५० वटा बाघ पुगेका छन् । तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्यामा गिरावट देखिएको छ । अघिल्लो गणनामा १२५ रहेको बर्दियामा यसपटक १३ वटाले घटेर ११२ मा खुम्चिएको छ ।

तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या बढे पनि वृद्धिदरमा भने केही कमी आएको छ । सन् २०७४ को गणनामा २३५ बाघ रहेकोमा २०७९ मा १२० वटा (करिब ५१ प्रतिशत) थपिएका थिए । तर, यसपटकको गणनामा वृद्धिको अनुपात अघिल्लोपटकको तुलनामा कम अर्थात् २१ प्रतिशत मात्र रहेको विभागको प्रतिवेदनले देखाउँछ । यसपटकको सर्वेक्षणमा अत्याधुनिक ’क्यामरा ट्रयापिङ’ प्रविधिबाट ३७३ वटा छुट्टाछुट्टै बाघको पहिचान गरिएको थियो, जसका आधारमा वैज्ञानिक विधि (क्भ्ऋच्) प्रयोग गरी कूल अनुमानित सङ्ख्या ४२९ निकालिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार बाघको सङ्ख्या बढ्नु संरक्षणको क्षेत्रमा ठुलो उपलब्धि हो । तर, सङ्ख्या वृद्धिसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण, वासस्थानको गुणस्तर सुधार र बाघको आहारा प्रजातिको संरक्षण अबको मुख्य चुनौती बनेको छ । विभागले आगामी दिनमा ’शून्य मानव क्षति’को अवधारणालाई आत्मसाथ गर्दै बाघको आनीबानी र व्यवस्थापनमा थप केन्द्रित हुने योजना बनाएको छ ।


Facebook Comments