कप्तानगञ्जमा थप निगरानीका लागि काठमाडौँबाट पठाइयो ड्रोन

User Image मेयरसाप डेस्क | २०८३ साउन १३ गते १३:२७
Image of https://mayorsap.com/storage/photos/shares/kaptangung.jpg

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार साँझ हिन्दु र मुस्लिम समुदायबीच ढुंगामुढा भएपछि प्रहरीले प्रभावित क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको हो।

प्रहरीका अनुसार घटनास्थल र आसपासका संवेदनशील क्षेत्रमा सुरक्षा सुदृढ बनाउन नजिकका जिल्लाबाट समेत जनशक्ति झिकाइएको छ। केही भित्री क्षेत्रमा सुरक्षाकर्मी सहज रूपमा पुग्न नसकेपछि हवाई निगरानीका लागि काठमाडौँबाट ड्रोन पठाइएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरी प्रधान कार्यालयमा रहेको ड्रोन मंगलबार राति नै सुनसरी पठाइएको हो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले सुरक्षा निगरानी प्रभावकारी बनाउन तथा शंकास्पद गतिविधिमाथि नजर राख्न ड्रोन प्रयोग गरिने जानकारी दिए।

उता, जिल्ला प्रशासन कार्यालयले तनाव प्रभावित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यसअघि आइतबार भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समिति पनि घटनास्थल पुगिसकेको छ।


Facebook Comments