ग्यासकाे हाहाकार टार्न नसकेपछि उद्योग मन्त्री गौरीकुमारीले दिइन् राजीनामा
मेयरसाप डेस्क
|
२०८३ भदौ २५ गते १४:४२
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। काठमाडौं उपत्यकामा चर्किएको एलपी ग्यासको अभाव सहज बनाउन नसकेको भन्दै आलोचना खेपिरहेकी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
ग्यासको आपूर्ति व्यवस्थापनलाई लिएर मन्त्री यादव पछिल्लो समय विवादमा थिइन्। बुधबार संसदीय समितिको बैठकमा दिएको उनको अभिव्यक्तिपछि एलपी ग्यास उद्योगीसमेत असन्तुष्ट बनेका थिए।
समितिको बैठकमा मन्त्री यादवले ग्यास क्षेत्रमा अपेक्षित सुधार हुन नसक्नुमा उद्योगी र कर्मचारीबीचको मिलेमतो जिम्मेवार रहेको आरोप लगाएकी थिइन्। उनको उक्त अभिव्यक्तिलाई उद्योगीहरूले धम्कीपूर्ण भन्दै आपत्ति जनाएका थिए।
यता, काठमाडौं उपत्यकामा भने ग्यासको अभाव अझै गम्भीर बन्दै गएको छ। नेपाल आयल निगमको तथ्यांकअनुसार ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिएको देखिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। सर्वसाधारण खाली सिलिन्डर बोकेर दिनभर डिपो धाउनुपर्ने अवस्था छ।
अभावको मौका छोपेर बजारमा ग्यासको कालोबजारीसमेत बढेको गुनासो छ। सरकारले तोकेको बिक्री मूल्यभन्दा निकै बढी रकम लिएर उपभोक्तालाई ग्यास बिक्री भइरहेको बताइएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक करिब ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। तर, पछिल्लो समय मागअनुसार आपूर्ति हुन नसक्दा उपत्यकामा ग्यासको अभाव चुलिएको हो।
नेपाल आयल निगमको अनुमानअनुसार काठमाडौं उपत्यकामा मात्रै अहिले १२ देखि १५ लाख खाली ग्यास सिलिन्डर घर तथा विभिन्न स्थानमा थन्किएका छन्।
एकातर्फ निगमको तथ्यांकमा ग्यास भित्रिएको देखिने र अर्कोतर्फ उपभोक्ताले डिपोमा लाइन बस्दा पनि ग्यास नपाउने अवस्थाले आपूर्ति व्यवस्थापनमाथि नै प्रश्न उठेको छ।
यही अवस्थामा उद्योगी र सरकारबीचको सम्बन्धसमेत तनावपूर्ण बनेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्।
Facebook Comments