पाल्पाको रामपुरमा मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता हुने
Mayorsap
आइत, फागुन ११, २०८१ | १२:४६ बजे

पाल्पा । भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए।
“गाउँघरमा परम्परागत रुपमा चलिआएका लोक भजनलाई लोप हुन नदिन, यसको महत्व र मौलिकतालाई जीवन्त जोगाइराख्न प्रतिष्पर्धात्मक रुपमा कार्यक्रम गर्न लागिएको छ”, उनले भने, “यसले धर्म, संस्कृतिको संरक्षण हुनुका साथै नयाँ पुस्तालाई पनि भजन संस्कृतिबारे अवगत गराउने उद्देश्य लिइएको छ ।”
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र उपसभामुख मेनुका खाँण केसीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। एक समूहमा बढीमा नौ जना हुनुपर्ने र जुनसुकै ठाउँमा बसोबास गरेको भए हुने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुनका लागि उमेरको हद तोकिएको छैन ।
हिन्दु समुदायमा लोकभजन कृतन निकै लोकप्रिय मानिन्छ । कालीगण्डकी वेशीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिको प्रवद्र्धन, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन, संस्कृतिलाई अवलम्वन गराउन प्रतियोगिता सहयोगी हुने अपेक्षा गरिएको छ ।
देवी देवताका विभिन्न मठ मन्दिर, देवालयमा दैनिक भजनकृतन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थलमा पनि दैनिक भगवान्कै नाम जप्दै भजनकृतन गरिन्छ ।
भगवानको नाम जप्दै भजनको तालमा नाच्ने र गाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भजनकृतन गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो गाउने चलन परम्परादेखि चलिआएको हो । गवान्का नाममा गाइने भजनकृतनले मानिसलाई सद्गुणी र विवेकशील बनाउदै आध्यात्मिकतर्फ डोर्याउने मान्यता छ ।
मानिस धार्मिक कार्यमा तल्लिन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बुढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न बृद्धाश्रम, मठ मन्दिर, देवालयहरुमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पार्ने पनि गर्छन् ।