सरकारलाई बालेनको चुनौतीे– 'गलत भए मलाई जेल हाल'


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै उनलाई सरकारले बचाएको र आफूहरूले चाहिँ सुशासनको कुरा सुन्नु पर्ने भनेर प्रश्न गरेका छन् ।
गुरागाईंमाथि छानबिन गर्न बनेको समितिले बनाएको राय प्रतिवेदन सार्वजनिक गर्दै बालेनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न बालेनले एउटा छानबिन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको प्रतिवेदन तयार गर्यो ।
तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।