बिचौलिया इनमको मोबाइलमा भेटियो न्यायाधीश–बिचौलिया कनेक्सन, दुई करोड धरौटीदेखि होटलमा भेट्ने प्रस्तावसम्म, अमेरिकी बैंकसम्म कारोबार!
मेयरसाप डेस्क
|
२०८३ कात्तिक १२ गते ११:२८
काठमाडौँ । न्यायालयमा बिचौलियामार्फत मुद्दाको सेटिङ हुने गरेको आरोप र उच्चपदस्थ अधिकारीहरूसँगको शंकास्पद सम्पर्कसम्बन्धी विवरण सार्वजनिक भएपछि नेपालको न्यायिक तथा प्रशासनिक क्षेत्रमा गम्भीर प्रश्न उठेका छन् । विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलमा भेटिएका भनिएका संवाद, बैंक खातासम्बन्धी विवरण र आर्थिक कारोबारका संकेतले न्यायालयदेखि प्रहरी प्रशासनसम्मको सम्बन्धमाथि अनुसन्धानको आवश्यकता औँल्याएका छन् ।
सार्वजनिक विवरणअनुसार सापकोटाको सम्पर्क पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सर्वोच्च अदालतका बहालवाला न्यायाधीश हरिप्रसाद फुयाल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, रास्वपा सांसद तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललगायत उच्चपदस्थ व्यक्तिहरूसँग जोडिएको दाबी गरिएको छ ।
विचाराधीन मुद्दा र न्यायाधीशसँगको संवादले उठायो प्रश्न
सार्वजनिक भएकाे ह्वाट्सएप संवादअनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र सापकोटाबीच मुद्दाको विषयमा कुराकानी भएको देखिन्छ । संवादमा धरौटीमा रिहा गर्ने आधार, दुई करोड रुपैयाँ धरौटी मागिएको विवरण तथा होटलमा भेट्ने प्रस्ताव उल्लेख भएको छ ।

विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहसँग सम्बन्धित मुद्दामा प्रतिवादी रोहित गुप्तालाई विशेष अदालतले २०८३ साउन २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका गुप्तालाई भदौ १७ गते न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विवरण सार्वजनिक भएको छ ।
उक्त आदेश भएको दिन नै न्यायाधीश फुयाल र सापकोटाबीच संवाद भएको दाबीले न्यायिक निर्णय प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ । संवादमा सर्वोच्च अदालतको आदेशको लिंकसमेत पठाइएको छ । तर, संवादको पूर्ण सन्दर्भ, त्यसको आधिकारिकता र मुद्दाको निर्णयसँग त्यसको सम्बन्धबारे सम्बन्धित निकायको निष्कर्ष सार्वजनिक हुन बाँकी छ ।
न्यायाधीशहरूको आचारसंहिता, २०७४ ले न्याय सम्पादनमा नकारात्मक प्रभाव पर्ने गरी अनावश्यक सम्बन्ध वा सम्पर्क बढाउन नहुने व्यवस्था गरेको छ । त्यसैले विचाराधीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग न्यायाधीशको संवाद भएको दाबीमाथि निष्पक्ष छानबिन हुनु आवश्यक देखिन्छ ।
प्रधानन्यायाधीश र सांसदको नाममा विदेशी बैंक खाताको विवरण
सापकोटाको मोबाइलमा भेटिएको अर्को विवरणले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा नेपाल तथा अमेरिकाका बैंक खातामा रकम जम्मा गर्ने विषय उठाएको छ । सार्वजनिक विवरणमा जनवरी, नोभेम्बर र डिसेम्बरका कारोबार जोडेर १ लाख ९८ हजार ३३३ रकम उल्लेख गरिएको छ । कर कटाउँदा १ लाख ७४ हजार ३३३ हुने विवरण पनि समावेश छ । तर, उक्त रकम अमेरिकी डलरमा हो वा नेपाली रुपैयाँमा भन्ने स्पष्ट छैन ।
उक्त विवरणमा शर्मा, पोखरेल र सशस्त्र प्रहरीका तत्कालीन एआईजी वंशी दाहालको नाम उल्लेख भएको छ । रकम अमेरिकामा रहेका सापकोटाका सालो नीराजन पाण्डेको नाममा रहेको बैंक अफ अमेरिकाको खातामा जम्मा गर्न निर्देशन दिइएको विवरण सार्वजनिक भएको छ । नेपालका बैंकमार्फत रकम जम्मा गर्ने विकल्पमा सापकोटाकी श्रीमती कविता पाण्डेको खातासमेत उल्लेख गरिएको छ ।
बिचौलियाको सम्पर्कले प्रहरी प्रशासनसम्म पुर्यायो अनुसन्धान
सापकोटा गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनको मोबाइलमा नेपाल प्रहरीका उच्च अधिकारीहरूसँगको सम्पर्क र शंकास्पद संवाद भेटिएको छ । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र एआईजी राजन अधिकारीसमेत सापकोटाको सम्पर्कमा रहेको विवरण सार्वजनिक भएको छ ।
यही प्रकरणमा सशस्त्र प्रहरीका एआईजी वंशी दाहालमाथि शंकास्पद सम्बन्ध र गोप्य सूचना चुहाएको आरोप लागेको थियो । उनी निलम्बनपछि सेवाबाट बर्खास्त भएका छन् । सापकोटाको मोबाइलमा भेटिएका भनिएका संवादकै आधारमा अन्य अधिकारीहरूको भूमिकाबारे पनि प्रश्न उठेको छ ।
चोलेन्द्रशमशेर जबरादेखि दीपक भट्टको समूहसम्म कनेक्सन
सापकोटाको सम्पर्क पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समेत जोडिएको आशंकामा सरकाले अनुसन्धान अघि बढाएकाे छ । जबरासँग सम्बन्धित शंकास्पद गतिविधि र सम्पत्तिबारे अनुसन्धानका क्रममा बाँसबारीस्थित जबराको निवास, उनका भाइ प्रभुशमशेर जबराको निवास, पूर्वन्यायाधीश नवराज थपलियाको निवासलगायत स्थानबाट खानतलासी गरी कागजात तथा विद्युतीय उपकरण नियन्त्रणमा लिइएको छ । यही अनुसन्धानको क्रममा ‘स्याउको बाकस’ प्रयोग गरेर घुस ओसारपसार गरिएको भनिएको छ ।
सापकोटाको सम्बन्ध विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहसँग सम्बन्धित मुद्दाहरूसम्म जोडिएको बताइएको छ । भट्ट र उनको समूहसँग सम्बन्धित व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्र, बैंकिङ तथा बिमासम्बन्धी कसुरका मुद्दामा अनुसन्धान भइरहेकाे छ । सरकारले भट्टविरुद्ध २७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गरेको छ । सापकोटाले यस्ता मुद्दामा प्रतिवादीलाई सुविधा पुग्ने गरी चलखेल गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
त्यस्तै, लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि सापकोटासँगको सम्बन्धका आधारमा अनुसन्धानमा तानिएका छन् । उनी अहिले हिरासतमा छन् । सापकोटाको घरबाट एक हजार चार सय अमेरिकी डलर भेटिएको र उनी तथा उनकी श्रीमतीका बैंक खातामा शंकास्पद कारोबार देखिएपछि खाता रोक्का गरिएको विवरणसमेत सार्वजनिक भएको छ ।
अमेरिका, दुबई र सिंगापुरसम्म फैलिएको सम्पर्क
सापकोटाले नेपालमा मुद्दासम्बन्धी चलखेल गर्ने र विदेशमा आर्थिक कारोबार गर्ने गरेको आरोप सार्वजनिक भएको छ । उनको सिंगापुरको मोबाइल नम्बरमा सम्पर्क हुने गरेको, सिंगापुरमा कम्पनी रहेको र दुबईमा अपार्टमेन्टसमेत रहेको विवरण उल्लेख गरिएको छ ।
उनको सम्पर्क राजनीतिक नेता, न्यायाधीश, प्रहरी अधिकारी, कर्मचारी तथा विभिन्न मुद्दाका प्रतिवादीहरूसम्म पुगेको देखिन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग पनि सापकोटाको निकट सम्बन्ध रहेको विवरण सार्वजनिक भएको छ । खाँणको रिहाइमा सापकोटाको भूमिका रहेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको छ ।
सापकोटाको मोबाइलबाट प्राप्त भएका संवाद र आर्थिक विवरणले न्यायिक निर्णय, राजनीतिक पहुँच र प्रशासनिक सूचनाको सम्भावित दुरुपयोगबारे गम्भीर प्रश्न उठाएका छन् । विशेषगरी विचाराधीन मुद्दासँग सम्बन्धित संवाद, विदेशस्थित बैंक खातामा रकम जम्मा गर्ने निर्देशन र उच्चपदस्थ व्यक्तिहरूको नाम एकै सन्दर्भमा आउनुले अनुसन्धानको दायरा र पारदर्शिताको महत्त्व बढाएको छ ।
Facebook Comments