काठमाडौं महानगरमा तीन महिनापछि हाजिर गरेर मन्त्रालय हिँडे प्रशासकीय अधिकृत गुरागाईं


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उपमेयर सुनिता डंगाेल, अन्य जनप्रतिनिधिहरू र कर्मचारीहरूकाे सहयाेगमा तीन महिना १४ दिनपछि कार्यकक्षमा पुगेर हाजिर गरेका छन् ।
बिहीबार (चैत २१) मेयरले खटाएका नगर प्रहरी र उपमेयर, अन्य जनप्रतिनिधिहरू साथै कर्मचारीहरूबीचकाे धकेलाधकेलका बीच ढाेका फाेडेरै गुरागाईँ कार्यालय छिरेर हाजिर गरी मन्त्रालय हिँडेका हुन् ।
महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन् । मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले जानकारी दिएका छन् ।
उनी महानगरकै वातावरण व्यवस्थापन विभागको गाडीमा चढेर मन्त्रालयतर्फ लागे । उनको गाडीमा महानगरको नगर प्रहरी बलले ‘ह्वील लक’ लगाएको छ ।
नगर प्रहरीले लगाएको ताला फोडेर उनी कार्यकक्षमा प्रवेश गरेका थिए । उक्त ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन)काे अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो ।
गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।
काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।
महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।