शिक्षक आन्दोलनमा सांसददेखि विद्यालय व्यवस्थापन समितिसम्मको एक्यबद्धता

अम्बिका खड्का
शुक्र, चैत २२, २०८१ | १९:२४ बजे

काठमाडौं । नेपाल शिक्षक महासंघद्वारा आयोजित शिक्षक आन्दोलनमा सांसददेखि विद्यालय व्यवस्थापन समितिसम्मले एक्यबद्धता जनाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै बुधबारदेखि काठमाडौंको माइतिघर मण्डलामा सुरू भएको आन्दोलनमा आज (बिहीबार) सांसद र विद्यालय व्यवस्थापन समितिसम्मको एक्यबद्धता देखिएको हो ।
आन्दोलनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य समेत रहेका सांसद डा. चन्द्रकान्त भण्डारी समेत माइतघरमा शिक्षकहरुसँगै भद्र आन्दोलनमा सहभागी भएका थिए । शिक्षकहरूको आन्दोलनमा सहभागी भएका सांसद भण्डारीले मेयरसाप डटकमसँग भने, ‘शिक्षकहरुले आन्दोलन गर्नुभएको थाहा पाएपछि म समितिको बैठकबाटै यता आएको हो । हामी शिक्षकको माग भन्दा बाहिर छैनौं । शिक्षकले पढाएरै हामी राजनीतिज्ञ भएका हौं । हामी उहाँहरुको मन दुखाउने पक्षमा पटक्कै छैनौं ।’
सांसद भण्डारीले शिक्षा विद्येयक छिटो भन्दा छिटो बन्ने आश्वास आन्दोलनमा सहभागी शिक्षकहरूलाई दिए । उनले शिक्षकहरूलाई आन्दोलन नलम्ब्याउन आग्रह समेत गरे । सदनमा सबै सांसदहरु शिक्षककै पक्षमा रहेकाले विधेयक पास हुन समस्या नहुने सांसद भण्डारीको जिकिर थियो । उनले थप भने, ‘हामी छिटो भन्दा छिटो ऐन बनाउँछौं । ऐन निर्माणमा शिक्षकहरुलाई नै सहभागी समेत गराउने छौं । शिक्षक भनेको केबल शिक्षक होइन्, विद्यार्थी, अभिभावक, पाठ्यक्रम, मूल्यांकन र नतिजा पनि हो । यी सबै भूमिका निभाउने शिक्षकलाई हामी सम्मान गर्छौं । उहाँहरुको चित्त दुखाउने छैनौं ।’
त्यसैगरी आन्दोलनमा शिक्षकहरू मात्र नभएर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको समेत उपस्थिति र एक्यबद्धता देखिएको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको महेन्द्रदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पाख्रिङ आन्दोलनमा सहभागी मात्रै थिएनन्, उनले शिक्षकहरुका लागि पानीको समेत व्यवस्थापन गरेका थिए । अध्यक्ष पाख्रिङले एक जना समाजसेवीसँग सहकार्य गरी निजी खर्चमा शिक्षकहरूका लागि बिहीबार मात्र सय कार्टुन पानीको व्यवस्थापन गरेको जानकारी गराए । त्यसैगरी उनले भाडामा फोहोर उठाउने गाडीको समेत व्यवस्थापन गरेका थिए । अध्यक्ष पाख्रिङ भन्छन्, ‘शिक्षकहरूको समस्या केबल शिक्षकहरूको मात्र होइन्, विद्यार्थीको पनि हो, अभिभावकको पनि हो र हामी व्यवस्थापन समितिको पनि हो । त्यसैले हामी शिक्षक होइनौं तर व्यवस्थापन समितिकै तर्फबाट पनि शिक्षकहरूको आन्दोलनमा एक्यबद्धता जनाउन आएका छौं ।’ उनले यस आन्दोलनलाई समय, स्रोत र साधनले भ्याएसम्म साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
शिक्षा ऐन ल्याउनुपर्ने माग राख्दै विगत लामो समयदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि २०७५, २०७८ र २०८० मा समेत काठमाडौं आएर आन्दोलन गरेका शिक्षकहरुलाई सरकारले वार्ता गरेर फर्काउँदै आएको थियो । तर यस पटक भने शिक्षकहरु ‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने नारासहित आन्दोलनमा होमिएका छन् । सरकारले आफूहरुको माग पूरा नगरेसम्म आन्दोलन नरोकिने आन्दोलनरत शिक्षकहरुको भनाइ छ । हिउँदे अधिवेशन अन्त्य भइसकेको अवस्थामा अध्यादेशबाट भएपनि विद्येयक पास गर्नुपर्ने उनीहरुको अडान छ ।