अनुदान रकमका लागि फर्जी क्याम्पस प्रमुख नियुक्त, क्याम्पस प्रमुख र अध्यक्षले किर्ते गरेको खुलासा
साढे पाँच महिनाअघि आफू क्याम्पस प्रमुख नियुक्त भएको बारे मनोजकुमार साह बेखबर
मुकेश कुमार यादव
बुध, बैशाख १०, २०८२ | १६:५२ बजे

सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम पाउनका लागि फर्जी क्याम्पस प्रमुख बनाएको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगबाट पाउने अनुदानका लागि प्रमुख साहले क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङसँग मिलेर नक्कली क्याम्पस प्रमुख बनाएका हुन् ।
आयोगले पूर्णकालिन क्याम्पस प्रमुख नभएकै कारण प्रत्येक वर्ष अनुदानको रकम घटाउँदै आएको थियो । यो पटक आयोगले पूर्णकालिन क्याम्पस प्रमुख भएका क्याम्पसमा मात्र अनुदान दिने व्यवस्था लागू गरेपछि उनले क्याम्पसकै शिक्षक मनोज कुमार साहलाई पूर्णकालिन क्याम्पस प्रमुख नियुक्त गरेको पत्र आयोगमा पठाएको पाइएको छ । गत वर्षको कात्तिक २७ गते आयोगमा पठाएको पत्रमा कात्तिक २४ गतेदेखि नै लागू हुनेगरी क्याम्पस प्रमुखको जिम्मेवारी साहलाई दिएको उल्लेख गरिएको छ । क्याम्पसको लेटरहेड प्रयोग गरेर बनाइएको पत्रमा सञ्चालक समितिको हस्ताक्षर भने किर्ते गरिएको पाइएको हो । सञ्चालक समितिमा बैठक नै नबसि सञ्चालक समितिको निर्णय भनेर आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि लागू हुनेगरी चार वर्षको लागि पूर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी यसै क्याम्पसमा कार्यरत मनोज कुमार साहलाई दिइएको छ ।’ आयोगले भने उक्त पत्र गत चैत १२ गते प्राप्त भएको जनाएको छ । अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्त गरिएको पत्र आएको जानकारी दिएका छन् । उनले भने, ‘हाम्रोमा मनोजकुमार साहलाई क्याम्पस प्रमुख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आइसकेको छैन।’

क्याम्पसले मनोजकुमार साहलाई पूर्णकालिन प्रमुख नियुक्त गरेको भनेर विश्वविद्यालय अनुदान आयोगमा पठाएको पत्र
साढे पाँच महिनाअघि आफू क्याम्पस प्रमुख नियुक्त भएको थाहै छैन ‘मनोजकुमार साह’ लाई
वि.सं. २०८१ साल कात्तिक २४ गतेदेखि लागू हुनेगरी क्याम्पस प्रमुखको जिम्मेवारी मनोज कुमार साहलाई दिएको भनेर उल्लेख गरिएको पत्र कात्तिक २७ गते नै अनुदान आयोगमा पठाइएको थियो । क्याम्पस प्रमुख नियुक्त भएको करिब साढे पाँच महिना बितिसक्दा पनि मनोजकुमार साह भने यस बारे बेखबर छन् । उनी यस विषयमा आफूलाई औपचारिक तथा अनौपचारिक कुनै पनि जानकारी अहिलेसम्म नआएको बताउँछन् । क्याम्पस प्रमुख अहिलेसम्म किशोरकुमार साह नै रहेको र थप कुरा आफूलाई थाहा नभएको उनको भनाई छ । उनले भने, ‘यो विषयमा मलाई कुनै जानकारी छैन् । मलाई कसैले औपचारिक तथा अनौपचारिक कुनै पनि रुपमा जानकारी गराएको छैन । क्याम्पस प्रमुख अहिले पनि किशोर साह नै हो ।’

कागजमा क्याम्पस प्रमुख नियुक्त भएका मनोजकुमार साह
फर्जी प्रमुख नियुक्तिमा सञ्चालक समिति अध्यक्ष पनि संलग्न
फर्जी प्रमुख नियुक्तिमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङको पनि संलग्नता भएको देखिन्छ । अनुदान रकममा चलखेल गर्न पाउने लोभमा अध्यक्ष तामाङले प्रमुख साहलाई उत्तिकै साथ दिएको पाइएको छ । यस विषयमा कुरा गर्दा अध्यक्ष तामाङले सिधै क्याम्पसको हितको लागि गरेको भन्ने जवाफ दिएका छन् । पूर्णकालिन प्रमुख नभएसम्म अनुदान नपाउने भएपछि अनुदान रकमका लागि प्रमुखले तयार गरेको पत्रमा आफूले हस्ताक्षर गरेको उनले स्वीकार गरेका छन् । ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामीले अहिलेसम्म उहाँलाई जिम्मा दिएका छौं।’
अध्यक्ष तामाङले फर्जी प्रमुख बनाएको विषयमा भने, ‘क्याम्पस प्रमुख साहले प्राविधिक कुरा मिलाउनुहुन्छ । अनुदान आयोगमा नामका लागि मात्र अर्को व्यक्ति प्रमुख बनाएर पठाउनु छ, त्यसमा तपाईंले हस्ताक्षर गर्नुपर्छ भन्नुभयो । क्याम्पसकै हितका लागि हो भनेपछि मैले हस्ताक्षर गरिदिएको हुँ ।’
कानुनी रुपमा नमिले पनि क्याम्पसको हितमा हुन्छ भनेपछि आफूले हस्ताक्षर गरेको उनको भनाइ छ । यस विषयमा क्याम्पस प्रमुख किशोरकुमार साहले भने प्रतिक्रिया दिन चाहेनन् ।
क्याम्पस सञ्चालक समितिका सदस्यहरु बेखबर
क्याम्पस सञ्चालक समितिको बैठकबाट मनोजकुमार साहलाई क्याम्पस प्रमुख नियुक्त गरेको भन्ने निर्णय भएको पत्रमा सञ्चालक समितिका सदस्यहरुको समेत हस्ताक्षर छ । तर उक्त हस्ताक्षरमा क्याम्पस प्रमुख र समितिका अध्यक्ष बाहेक अन्य सदस्यहरुको हस्ताक्षर किर्ते गरेको पाइएको छ । यस विषयमा क्याम्पस सञ्चालक समितिका सदस्य चन्दर यादवले क्याम्पस प्रमुख फेर्ने विषयमा आफूलाई केही थाहा नभएको बताए । उनले यस बारेमा सञ्चालक समितिको बैठक समेत नबसेको बताएका छन् । उनले भने, ‘यो बीचमा बैठक नै बसेको छैन । केही दिन अघि बर्दिबासमा क्याम्पसको पञ्च वर्षे योजना सम्बन्धि बैठक बसेको थियो । तर प्रमुख फेरिने विषयमा अध्यक्षले समेत केही कुरा नै गर्नु भएको छैन ।’ उनले थप भने, ‘यदि क्याम्पस प्रमुख फेरिएको हो भने यो फर्जी गरिएको हो । हामीलाई यस विषयमा केही जानकारी छैन ।’
त्यसैगरी क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका गोलबजारका नगरप्रमुख श्याम श्रेष्ठले पनि क्याम्पस प्रमुख फेरिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । मेयरसाब डटकमबाट हामीले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं नि भनेर कुरा गर्दा उनले यसबारे बुझेर कुरा गर्ने बताए । उनले भने, ‘ए त्यस्तो पो गरिएको छ । पख्नुस् म बुझ्छु । पाँच मिनेटमा तपाईंलाई बुझेर खबर गर्छु ।’ त्यसपछि भने उनी फोन सम्पर्कमा आउन चाहेनन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका मधेश प्रदेशसभा सदस्य मनोजकुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्ने विषयमा कुनै पनि बैठक नबसेको बताए । उनले भने, ‘म बसेको बैठकमा यस्तो कुनै निर्णय भएको छैन । यस विषयमा मैले पनि बुझ्नै पर्छ ।’
क्याम्पसका विद्यार्थीहरुले समेत नयाँ क्याम्पस प्रमुखको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । अहिलेसम्म प्रमुख किशोरकुमार साह नै रहेको उनीहरुको भनाइ छ । क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत विद्यार्थी सुरेश रायले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन । तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’
विश्वविद्यालय अनुदान आयोगलाई क्याम्पसबाट नयाँ प्रमुख नियुक्त भएको पत्र पठाइएको छ, तर पत्रमा हस्ताक्षर भएका क्याम्पस सञ्चालक समितिका सदस्यहरु यस विषयमा आफूहरु जानकार नभएको बताउँछन् । उता प्रमुख नियुक्त भएका मनोजकुमार साह समेत यस विषयमा बेखबर छन् । यसबाट क्याम्पस प्रमुख किशोरकुमार साह र अध्यक्ष तामाङले फर्जी प्रमुख नियुक्त गरेको पुष्टि हुन्छ ।
क्याम्पसको सम्पूर्ण हिसाब प्रमुखले नै गर्ने, वर्षौंदेखि करोडौंको आर्थिक चलखेल
प्रमुख किशोरकुमार साहले अध्यक्ष तामाङसँगको मिलेमतोमा लामो समयदेखि क्याम्पसको करोडौं रकम हिनामिना गरेको आरोप समेत लाग्ने गरेको छ । उनले क्याम्पसका अन्य प्राध्यापकहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर आफ्नो पक्षमा पार्ने गरेको क्याम्पसकै एक शिक्षकले बताए । क्याम्पसले गत वैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वार्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रतिविद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। तर, सोही अवधिमा विद्यार्थीसँग भने १६ देखि १८ हजारसम्म लिने गरेको समेत भेटिएको छ ।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/०८० मा एक हजार चार सय ७५ जना विद्यार्थीको नामाङ्कन छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमको मात्र सोझो हिसाब गर्ने हो भने पनि एक वर्षमा मात्रै करिब ६६ लाखदेखि ९६ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि हुन्छ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन छ। यस वर्ष पनि क्याम्पस प्रमुख साहले करिब ५९ देखि ८५ लाख रुपैयाँको हिसाब हिनामिना गरेको देखिन्छ। यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाब कतै देखाएको छैन। २०८०/०८१ बाट मात्र प्रतिविद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरिएको छ । तर, विद्यार्थीसँग त्यो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ।
यसरी क्याम्पस प्रमुख साहले आफ्नो कार्यकालमा सात करोड भन्दा बढी रकम हिनामिना गरेको देखिन्छ। हजारौं विद्यार्थी संख्या भएको, वार्षिक करोडौंको कारोबार हुने क्याम्पसमा एक जना लेखापाल समेत छैनन् । लेखापालदेखि दर्ता चलानिका सम्पूर्ण काम क्याम्पस प्रमुख साहले नै हेर्ने गर्छन । पुस्तकालय हेर्न भनेर एक जना नियुक्त गरिएको छ । विद्यार्थीको रसिद काट्ने काम उनले गर्छन् । बाँकी क्याम्पसको सबै हिसाब प्रमुख साहले आफैं गर्ने गरेको र करोडौं रकम हिनामिना भएको सञ्चालक समितिका सदस्यहरुको समेत आरोप छ ।
प्रमुख किशोरकुमार साह धनगढीमाई नगरपालिका–१२ मा रहेको तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी शिक्षक हुन् । स्थायी शिक्षक हुँदाहुँदै निश्चित पार्टीका नेताको आडमा विगत एक दशकभन्दा लामो समयदेखि उनी क्याम्पसमा शिक्षकको रुपमा र २०७१ माघ २३ देखि हालसम्म अनवरत रुपमा क्यम्पस प्रमुख भएर काम गरिरहेका छन्।