बंगलादेश फेरि अशान्त, युनुसको घरमा आगजनी!

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०३ गते १०:५७
Image of https://mayorsap.com/storage/photos/shares/bangaldesh-violence-set-fire.jpg

एजेन्सी । सन् २०२४ मा विद्यार्थी अर्थात् जेनजी आन्दोलनले प्रधानमन्त्री शेख हसिनाको सत्ता ढालेको बंगलादेशमा फेरि हिंसाको आगो सल्किएको छ। राजनीतिक दलका कार्यालयदेखि नेताका निजी घर, प्रहरी बिट, सवारीसाधन र बैंकका शाखासम्म निशानामा परेका छन्। राजधानी ढाकामा बम विस्फोट भइरहेका छन् भने चटगाउँमा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पुर्ख्यौली घरमै आगजनी गरिएको छ।

यो घटना सामान्य आगजनी मात्रै होइन, हसिनाको पार्टी अवामी लिगले देशव्यापी हडताल आह्वान गरेको पृष्ठभूमिमा भएको हो। त्यसैले बंगलादेश फेरि ठूलो राजनीतिक टकरावतर्फ धकेलिँदै छ कि भन्ने प्रश्न उठेको छ।

युनुसको चटगाउँस्थित पाँचलाइश क्षेत्रको पुर्ख्यौली घरमा बुधबार राति करिब साढे ११ बजे आगो लगाइएको थियो। भुइँतलाको प्रयोगविहीन कोठामा आगो लागेको देखेपछि गस्तीमा रहेको प्रहरीले तत्काल निभाएको थियो। घरको माथिल्लो तलामा युनुसका दुई भाइका परिवार बस्दै आएका थिए। घटनामा मानवीय क्षति भएको छैन। कसले आगो लगायो भन्ने खुलेको छैन र अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन। घटनापछि घर वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

तर हिंसा युनुसको घरमा मात्रै सीमित छैन। मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका कम्तीमा १० जिल्लामा आगजनीका घटना भएका छन्। युनुसले स्थापना गरेको ग्रामीण बैंकका शाखा, राजनीतिक दलका कार्यालय, नेताका निजी घर, प्रहरीका ट्राफिक बिट, रेलवे प्लेटफर्म र सवारीसाधनसमेत आक्रमणको निशानामा परेका छन्। पिरोजपुरमा दुई बसमा आगजनी हुँदा एक यातायात मजदुरको मृत्यु भएको विवरण आएको छ। देशका ६४ जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र कच्चा बम विस्फोटका घटना भएको रिपोर्ट छ।

हिंसाका घटनापछि ढाकामा मात्रै २४ घण्टे सुरक्षा कारबाही चलाइएको छ। त्यसक्रममा ५६५ जना पक्राउ परेको विवरण छ। प्रमुख फ्लाइओभर, राजधानी प्रवेश गर्ने नाकादेखि संवेदनशील जिल्लासम्म प्रहरी र सीमा सुरक्षा बल परिचालन गरिएको छ।

आखिर अहिले नै किन भड्कियो हिंसा?

यसको जड पूर्वप्रधानमन्त्री शेख हसिना र वर्तमान राजनीतिक शक्तिबीचको द्वन्द्वमा छ। सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि हसिनाको सरकार ढलेको थियो र उनी भारत पुगेकी थिइन्। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हाले। उनको नेतृत्वको सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगायो र पार्टीका हजारौँ नेता तथा कार्यकर्तामाथि कारबाही अघि बढायो।

यही राजनीतिक पृष्ठभूमिमा अवामी लिगले बिहीबार देशव्यापी हडताल आह्वान गरेको छ। गत वर्ष मानवताविरुद्धको अपराधमा हसिनालाई मृत्युदण्ड सुनाइएको फैसलाको वार्षिकोत्सवलाई आधार बनाएर पार्टीले विरोध प्रदर्शन गर्न खोजेको हो। हसिनाले पनि भारतबाट फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको छ।

अहिले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले अवामी लिगलाई आतंकवादी र फासीवादी शक्ति भन्दै उसको पुनरागमनको विरोध गरिरहेको छ। प्रधानमन्त्रीले आफ्ना सांसदलाई निर्वाचन क्षेत्रमा फर्केर कार्यकर्ता र समर्थकसँग सक्रिय हुन निर्देशनसमेत दिएका छन्। उता अवामी लिगका कार्यकर्तामाथि विभिन्न स्थानमा हिंसात्मक आक्रमणको आरोप लागेको छ।

यसअघि हसिना सरकार ढलेपछि ढाकामा उनका पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको घरमा समेत पटकपटक तोडफोड र आगजनी भएको थियो। अन्ततः त्यो घर नै ध्वस्त पारिएको थियो। अहिले युनुसको पुर्ख्यौली घर र उनले स्थापना गरेको ग्रामीण बैंकका शाखाहरू निशानामा पर्नुले राजनीतिक प्रतिशोधको चक्र झन् गहिरिएको संकेत गर्छ।

अर्थात्, हसिना सत्ताबाट बाहिरिएपछि पनि बंगलादेशको राजनीति शान्त हुन सकेको छैन। एकातिर अवामी लिगको पुनरागमनको प्रयास र अर्कोतिर वर्तमान सत्ताको प्रतिरोध, बीचमा सर्वसाधारणको ज्यान, सम्पत्ति र दैनिक जीवन जोखिममा परिरहेका छन्।

सन् २०२४ को जेनजी आन्दोलनले सत्ता परिवर्तन गराएको बंगलादेश फेरि त्यस्तै ठूलो जनआक्रोश र राजनीतिक उथलपुथलको दिशामा जाँदै छ त? कि यो हिंसा दलहरूबीचको शक्ति संघर्षमै सीमित रहला? अबको केही दिनले त्यसको संकेत दिनेछ।


Facebook Comments