अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०१ गते १०:२५
काठमाडौं । अब बजारबाट मासु किन्दा मूल्य र तौल मात्रै होइन, सरकारी छाप पनि हेर्नुहोला। काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा आएको छ। अब जथाभावी पशु काटेर मासु बेच्न पाइने छैन। वधशाला र मासु पसल सञ्चालन गर्न सरकारी निकायबाट अनिवार्य इजाजतपत्र लिनुपर्नेछ।
ऐन कार्यान्वयनको सुरुवात काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको न्यू पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट भएको छ। यी तीन वधशालामा पशु काट्नुअघि स्वास्थ्य परीक्षण गरिनेछ। वधपछि पनि मासु खान योग्य छ कि छैन भनेर जाँच हुनेछ। योग्य ठहरिएको मासुमा सरकारी छाप लगाएपछि मात्रै बिक्री गर्न पाइनेछ।
तर पहिलो दिनदेखि नै उपत्यकाका सबै पसलमा छापयुक्त मासु उपलब्ध हुने छैन। २१ स्थानीय तहमा वधस्थल तोक्ने र मासु सुपरिवेक्षक नियुक्त गर्ने प्रक्रिया बाँकी छ। त्यसका लागि बागमती प्रदेशले २३ जना सुपरिवेक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। विभागको लक्ष्य भने ५ देखि ६ महिनाभित्र सबै पसलमा छापयुक्त मासु पुर्याउने हो।
यसका लागि २४० जना मासु निरीक्षक तालिमसहित तयारी अवस्थामा राखिएका छन्। काठमाडौंमा १४७, ललितपुरमा ५८ र भक्तपुरमा ३५ जना निरीक्षक परिचालन गरिनेछ। अनुगमनमा अस्वस्थकर वा गुणस्तरहीन मासु भेटिए तत्काल जफत गरी बिक्रीमा रोक लगाइनेछ।
रोगी वा मरेका पशुपन्छीको मासु बेच्न, एउटा जनावरको मासुमा अर्कोको मासु मिसाउन र तौल वा स्वाद बढाउन बाह्य पदार्थ मिसाउन पनि पाइने छैन। नियम उल्लंघन गर्नेलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना, एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।
तर यो व्यवस्था उपत्यकामा मात्रै सीमित रहने छैन। आगामी माघ १ गतेदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा २०८४ साउन १ गतेदेखि बाँकी गाउँपालिकामा पनि लागू गर्ने सरकारी कार्यतालिका छ।
सरकारले व्यवसायीलाई विस्थापित नभई व्यवस्थित बनाउने दाबी गरेको छ। साना व्यवसायीले पनि तोकिएको वधस्थलमा पशु काटेर परीक्षण र छाप लगाई आफ्नै पसलबाट मासु बेच्न सक्नेछन्।
Facebook Comments