एनपीएल पहिलो क्वालिफायर आज: भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम, काे पुग्ला फाइनल ?

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०१ गते १०:२१
Image of https://mayorsap.com/storage/photos/shares/lumbini-sudur.jpg

काठमाडौं । एनपीएलको फाइनल पुग्ने पहिलो टोली आज तय हुँदैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेल जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ। हार्ने टोलीको भने फाइनल पुग्ने सम्भावना अझै समाप्त हुनेछैन, उसले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

लिग चरणमा दुवै टोलीले पाँच–पाँच खेल जितेका छन्। तर सुदूरपश्चिमले दुई खेल हार्दा लुम्बिनीले एक खेल मात्रै हारेको छ। एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले एक अंक बढी जोड्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

तर यो भिडन्तमा लुम्बिनीलाई अर्को मनोवैज्ञानिक फाइदा पनि छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनीले यसपटकको लिग चरणको पहिलो खेलमा पनि सात विकेटको जित निकालेको थियो। उक्त खेलमा सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो। अब लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक गर्ने लक्ष्य लुम्बिनीको हुनेछ।

यता सुदूरपश्चिम भने अघिल्ला दुई हारको बदला लिँदै पहिलो प्रयासमै फाइनल पुग्न चाहन्छ। आजको खेल हार्ने टोली पनि प्रतियोगिताबाट बाहिरिने छैन। उसले दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ।


Facebook Comments