बालेनको २५ घण्टे दिल्ली दौड! मोदीसँग के हुँदैछ?
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०१ गते १०:१८
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण जम्मा २५ घण्टाको हुने भएको छ। मंसिर ६ गते दिल्ली उड्ने र भोलिपल्टै फर्किने तयारी छ। छोटो भ्रमण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेट, उच्चस्तरीय वार्ता र जनकपुर–अयोध्या रेल सेवाको उद्घाटनजस्ता कार्यक्रमलाई महत्त्वका साथ हेरिएको छ।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो दिल्ली प्रस्थान गर्नेछन्। त्यहाँ नेपाली दूतावास पुग्ने र राति होटलमा बस्ने कार्यक्रम छ। भोलिपल्ट भारत सरकारको गार्ड अफ अनर ग्रहण गरेपछि औपचारिक भेटवार्ता सुरु हुनेछ।
प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच भेटबार्ता हुनेछ। उपलब्ध विवरणअनुसार राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटपछि मोदीसँग करिब ३० मिनेटको एकान्त वार्ता गर्ने तयारी छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच उच्चस्तरीय बैठक हुनेछ। तर भेटवार्ताको विस्तृत आधिकारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन।
दुई प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम पनि छ। करिब ६०४ किलोमिटरको यो रेल सेवा सुरुमा सातामा एकपटक सञ्चालन हुनेछ। भारतकै रेलबाट सेवा सञ्चालन हुने र यात्रुको चापअनुसार भविष्यमा सेवा विस्तार गर्ने तयारी छ।
तर भ्रमणको एजेन्डा रेल उद्घाटनमा मात्रै सीमित छैन। नेपालले बाढीपछिको पुनर्निर्माण, पूर्वाधार र विकास आयोजनाका लागि भारतसँग करिब २ खर्ब नेपाली रुपैयाँ बराबरको अनुदान तथा सहुलियत ऋण मागेको छ। प्रस्तावमा १ खर्ब रुपैयाँ सहुलियत ऋण र १ खर्ब अनुदान रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै समाचारहरू सार्वजनिक भएका छन्। तर सहयोगको रकम र सर्तबारे अन्तिम सहमति भइसकेको छैन।
त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज बनाउन थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय पनि नेपालले उठाउनेछ। वर्षौंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने र सीमा विवादका विषयसमेत छलफलमा समेट्न नेपालले चाहेको छ। यसका अतिरिक्त पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, भैरहवाको एकीकृत जाँच चौकी र दार्चुलासहितका केही पूर्वाधार आयोजनाको उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने तयारी पनि छ।
प्रधानमन्त्री बनेपछि एक वर्ष विदेश भ्रमण नगर्ने बताएका बालेन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गए पनि भारत भ्रमण भने उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ। सुरुमा तीन दिनको भनिएको भ्रमण अन्तिम तयारीमा करिब २५ घण्टामा सीमित भएको छ।
Facebook Comments