खाली हुँदै ६ एआईजी पद , बढुवामा कसले मार्ला बाजी?

User Image मेयरसाप डेस्क | २०८३ कात्तिक ३० गते १०:४७
Image of https://mayorsap.com/storage/photos/shares/police_3.jpg

काठमाडाैं । नेपाल प्रहरीको उच्च नेतृत्व तहमा फेरि ठूलो फेरबदल हुने भएको छ। एकैपटक ६ जना अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी पद रिक्त हुँदैछन्। तर यी पदमा बढुवा हुने प्रतिस्पर्धामा सबै डीआईजी बराबर छैनन्। अहिलेको सम्भावना हेर्दा आईजीपी मनोज केसीकै ब्याचीहरू अगाडि देखिएका छन्। तर प्रहरी संगठनको भावी नेतृत्व गर्ने सम्भावना भने अर्को ब्याचका अधिकारीहरूकाे हातमा रहेकाे देखिन्छ । 

हाल एउटा एआईजी पद रिक्त छ। आईजीपी मनोज केसीको नियुक्तिपछि अपराध अनुसन्धान विभागमा खाली भएको यो पदसँगै आगामी पुस ५ गते थप पाँच एआईजी अनिवार्य अवकाशमा जाँदैछन्।

अवकाश हुनेमा सीआईबी प्रमुख उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभागका सिद्धिविक्रम शाह, कार्य विभागका हिमालयकुमार श्रेष्ठ र प्रशासन विभागका डम्बरबहादुर विक छन्। उनीहरू सबै २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए। त्यही समयदेखि सेवा अवधि गणना हुँदा ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा जान लागेका हुन्।

रिक्त हुने ६ पदमा कसले बाजी मार्ला ?

उपलब्ध विवरणअनुसार आईजीपी केसीकै ब्याचका डीआईजी राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सम्भावना बलियो देखिएको छ। उनीहरूसँगै डीआईजी बनेका ईश्वर कार्की भने यसअघि नै एआईजी भइसकेका छन्। त्यसैगरी सुदर्शनप्रसाद कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि एआईजीका दाबेदार छन्।

तर अहिले एआईजी बन्ने र भोलि आईजीपी बन्ने समीकरण एउटै छैन। २०८२ कात्तिकमा डीआईजी बनेका भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले र विश्वराज अधिकारी अहिले एआईजी बन्ने सम्भावना कम देखिए पनि आगामी नेतृत्वको दौडमा उनीहरू अगाडि आउन सक्छन्। उनीहरूमध्ये एक जनाले २०८४ चैतदेखि प्रहरी संगठनको नेतृत्व गर्ने सम्भावना छ।


Facebook Comments