भीमफेदीमा फेरि दुर्घटना, सुमो खस्दा तीनको मृत्यु!
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०३ गते १०:५३
काठमाडाैं । मकवानपुरको भीमफेदीमा फेरि अर्को दर्दनाक सवारी दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक सुमो राप्ती खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिकै आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको हो। ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। तर अस्पतालका चिकित्सकले दुई महिला र एक पुरुष गरी तीन जनालाई मृत घोषणा गरेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ।
दुर्घटनाको कारण र जिपमा सवार यात्रुको विस्तृत विवरण भने खुलिसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। भीमफेदीमा यसअघि कात्तिक २६ गते यही गाउँपालिकाको वडा नम्बर ६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। काठमाडौं जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।
Facebook Comments