Ad Image

बालेनका स्वकीय सचिवको ‘धम्कीपूर्ण अभिव्यक्ति’माथि पाँच कर्मचारी संगठनको विरोध, कार्बाहीको माग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744277718.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहको अभिव्यक्तिप्रति पाँच कर्मचारी संगठनहरूले कडा आपत्ति जनाएका छन् । आज उनीहरूले नगर कार्यपालिकालाई ज्ञापनपत्र बुझाउँदै सचिव साहमाथि छानबिन र कानूनअनुसार कार्बाही गर्न माग गरेका हुन् ।


ज्ञापनपत्रमा सचिव साहले उपमेयर, वडाध्यक्ष तथा कर्मचारीहरूलाई सार्वजनिक रूपमा लाञ्छना लगाउने, धम्की दिने र अनधिकृत रुपमा सञ्चारमाध्यम प्रयोग गर्ने जस्ता कार्यहरू आपत्तिजनक भएको उल्लेख गरिएको छ ।


गत चैत २१ गते सचिव साहले प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिर गराउने प्रयासमा संलग्न सबैलाई भ्रष्टाचारको मुद्दा लाग्न सक्ने चेतावनी दिएका थिए, जसप्रति कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् ।


ज्ञापनपत्रमा भनिएको छ, “धम्कीपूर्ण भाषा, सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्तिहरू र प्रशासनमा मौखिक आदेश चलाउने प्रवृत्ति अस्वीकार्य छ । यसलाई तत्काल अन्त्य गर्नुपर्छ।”


त्यसैगरी, व्यवस्थापन तथा शहरी विकास विभागमा अनधिकृत व्यक्तिहरूको उपस्थिति हटाउन माग गरिएको छ । कर्मचारी संगठनहरूका अनुसार, सचिवालयमार्फत नियुक्त कर्मचारी र सल्लाहकारहरूले वातावरण असहज बनाउने, अफवाह फैलाउने तथा कर्मचारीलाई धम्क्याउने प्रवृत्ति बढेको छ ।


ज्ञापनपत्रमा गैरकानुनी रूपमा गठन गरिएका समिति तथा संयन्त्रहरू खारेज गरिनुपर्ने, र सबै प्रशासनिक कामकाज प्रमुख प्रशासकीय अधिकृतमार्फत विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने माग समेत गरिएको छ ।