Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २ गते २१:४१
Image of storage/news/1744905406.jpg

ललितपुर । यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इन्जिनियर पद्मसुन्दर जोशी र कदम पुरस्कार अभिलेखविद् डा श्यामसुन्दर राजवंशीलाई प्रदान गरिएको छ। ‘जोशी रिसर्च इन्ष्टिच्यूट’ले आज पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशि जनही रु २५  हजार रहेको छ। 

 

इतिहास, संस्कृति, धर्म र दर्शनको अनुसन्धानमा सक्रिय संस्कृतिविद्  हरिराम जोशीले स्थापना गरेको संस्थाले संस्कृति संरक्षण र सम्वर्द्धनको कार्यमा योगदान दिनेलाई चार वर्षदेखि उक्त पुरस्कार दिँदै आएको छ। गत वर्ष उक्त पुरस्कार प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार तथा कवि मोहन दुवाललाई  प्रदान गरिएको थियो।

 

सम्मान कार्यक्रममा नेपाल भाषा एकेडेमीका कूलपति, लेखक एवं मानव अधिकारवादी मल्ल के सुन्दरले नेवार सभ्यता कति वैज्ञानिक छ भन्ने कुरा हिति प्रणालीले प्रमाणित गरेको उल्लेख गर्दै सम्मानले अध्येताको मात्रै नभइ पुरस्कारको गरिमा समेत बढाएको बताए।

 

‘हिति प्रणालीमा पुर्खाले निर्माण गरेको वैज्ञानिक पद्धति रहेको छ, नेवार समुदायले पुर्खाले निर्माण गरेको हिति प्रणालीमा गर्व गर्न सक्नुपर्छ। डा जोशी र डा राजवंशीको अध्ययन अनुसन्धानमा परिस्कृत विज्ञाता रहेको भान हुन्छ, दुवैजना जीवन्त सांस्कृतिक सम्पदाको संरक्षक हुनुहुन्छ’, उनले भने।

 

संस्कृतिविद् जोशीले यो संस्था आफ्नो पिता भारथराम जोशीको स्मृतिमा २०३७ सालमा स्थापना गरेर नेपाली संस्कृति, इतिहास र धर्म सम्बन्धी ४० भन्दा बढी पुस्तक प्रकाशित गरेको जानकारी दिए ।

 

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपाली संस्कृति र इतिहासको खोजीमा संस्कृतिविद् जोशीको अध्ययन अनुसन्धान महत्वपूर्ण भएको बताए । संस्कृतिविद् जोशी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै उनले जोशीले स्थापना गरेको संस्थाले गरेको कार्य सांस्कृतिक जागरणको सकारात्मक काम भएको धारणा राखे।

 

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अध्ययन अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य पत्ता लाग्ने उल्लेख गर्दै अध्येतालाई इतिहास र संस्कृति अध्ययन अनुसन्धानमा सफलता मिलोस् भनी शुभकामना दिए  ।

 

सम्मानित व्यक्तित्व इन्जिनियर जोशीले पाटनको हिटी संरक्षणमा १६/१७ वर्षदेखि काम गरेर आफूले इतिहासको संरक्षण र जीवन्तताका लागि मद्दत पुग्ने काम गरेको बताए। सम्मानित व्यक्तित्व जोशीले यो सम्मानले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको र हरेक कुराको दस्तावेजीकरण गर्नु पुस्तान्तरणका साथै पछिल्लो पुस्ताका लागि महत्वपूर्ण काम हो भने । 

 

हरेक काम आउने पुस्ताका लागि जीवन्त बनाउन सक्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले ललितपुर महानगरले हराइसकेका पोखरी र हिटीको संरक्षणमा महत्वपूर्ण काम गर्दै आएको धारणा राखे ।

 

इतिहासविद् प्रा डा त्रिरत्न मानन्धरले नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी प्रदान गरिएको यो पुरस्कारले इतिहास तथा संस्कृति संरक्षणमा लाग्नेलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने बताए ।


Facebook Comments