श्रमदानबाट काम भयाे भनेका मेयर हर्कले सात लाखकाे बिल पेश गरेपछि उपमेयरले गरेनन् स्वीकृत


सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै ‘श्रमदान’ को विषयमा चर्चामा रहेका मेयर हर्क साम्पाङले अहिले श्रमदानबाट भएको कामको समेत भुक्तानीका लागि बिल पेश गरेको पाइएको छ । मेयर साम्पाङले आफू निकट र समर्थकलाई श्रमदानका नाममा बोलाएर डोर हाजिरी गराई उपमहानगरपालिकाबाट ज्याला भुक्तानीका लागि बिल पेश गर्न लगाएको पाइएको हो ।
मेयर साम्पाङले सर्दु खोला नियन्त्रणका लागि धरान–१६ मा चलाएको श्रमदान अभियानका १५ जनालाई डोर हाजिरी भराई १ लाख ४८ हजार ५ रूपैयाँ भुक्तानीका लागि कार्यालयमा पेस गरेका छन् । ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको त्यसमध्ये ९ लाख ९८ हजारको श्रमदान भएको दाबी गर्दै ७ लाख ४१ हजार भुक्तानी मागदाबी गरेको छ । जबकी मेयर साम्पाङले उक्त ग्याबिन जारी लगाउने क्रममा श्रमदानमा काम भइरहेको सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए ।
त्यसैगरी मेयर साम्पाङले बनाएको उपभोक्ता समितिमा समेत वडाभित्रका मानिस नभएर फरक वडाका मेयर निकटका मानिसलाई राखिएको उपमेयर आइन्द्रविक्रम बेघाको आरोप छ ।
त्यसैगरी विकास निर्माणको भुक्तानीका लागि अनुगमन गरी प्रतिवेदन दिनुपर्ने अनुगमन समितिका संयोजक समेत रहेका उपमेयर बेघाले श्रमदान भन्दै मेयरले आफ्ना समर्थकलाई डोर हाजिरीमा काम लगाएको भनेर प्रतिवेदन दिएका छैनन् । उनले अनुगमन समेत नगरी निकासा रोकेपछि उपमहानगरमा यतिवेला मेयर र उपमेयरबीचको विवाद चुलिएको छ । सोही विवादका कारण सोमवार उपमेयरलाई मेयरका समर्थकले कार्यालयमै हातपात समेत गर्न खोजेका थिए । मंगलवार उपमेयर बेघाका समर्थकले उपमहानगर परिसरमा जम्मा भएर मेयर साम्पाङको विरोध गरेपछि आज उपमहानगर परिसर केही बेर तनावग्रस्त नै बनेको थियो ।
के भएको थियो सोमवार ?
सोमवार दुई बजेका लागि मेयर साम्पाङ आफैंले आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठक राखेका थिए । तर मेयर आफैं साढे ३ बजे कार्यालयमा आए । सोमवार नै कर्मचारीहरुको समेत मेयर र उपमेयरसँगको छलफल रहेकाले कर्मचारी र समितिका सदस्यहरु उपमेयरसँग छलफल गरिरहेका थिए । मेयर साम्पाङ कार्यालयमा आएपछि उपमेयरलाई आफ्नो कार्यकक्षमा बोलाए । उपमेयर मेयरको कार्यकक्षमा जाँदै गर्दा मेयर साम्पाङका समर्थकहरुले उपमेयरमाथि कुटपिटको प्रयास गरेको उपमेयर बेघाको सचिवालयको आरोप छ । मेयर साम्पाङले श्रमदानमा लगाएको कामको उपभोक्ता समिति बनाएर भुक्तानीका लागि पेस भएको बील पास नगरेका कारण आफूमाथि कुटपिटको प्रयास भएको उपमेयरको आरोप छ । सोमवार उक्त घटना भएपछि मंगलवार उपमेयरका समर्थक समेत उपमहानगर परिसरमा आएर मेयर साम्पाङको विरोध गर्न थाले । सोही क्रममा मेयरका समर्थक समेत भेला भएपछि अवस्था तनावग्रस्त हुन पुगेको थियो । उपमहानगर क्षेत्रमा प्रहरी नै परिचालन भएर भीडलाई शान्त बनाइएको छ ।
‘मेयरले श्रमदान भन्दै भुक्तानी लिँदै गर्यो’ भन्ने हल्ला फैलाएको साम्पाङको आरोप
यता मेयर साम्पाङले भने मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै फरक वडाका व्यक्तिलाई उपभोक्ता समितिमा राखेको विषयमा खोला कुनै पनि वडाको नहुने जवाफ दिएका छन् । उनले जुनसुकै वडाको भएपनि काम गर्ने मान्छेलाई आफूले समितिमा राखेको जिकिर गरे । उनले भनेका छन्, ‘उपभोक्ता समिति काम गर्ने मान्छे बाट बनाउने हो । घरमा बस्ने मान्छेलाई अध्यक्ष बनाएर त भएन नि ।’
मेयर साम्पाङले आफ्ना विरोधीहरुले ‘मेयरले श्रमदान भन्दै भुक्तानी लिँदै गरेको’ भनेर हल्ला फैलाएको आरोप समेत लगाएका छन् । उनले श्रमदानबाट भएको योगदान मूल्यांकन गर्नका लागि हाजिरी राखेको स्पष्ट पार्दै १७ लाखको काम उपभोक्ता समितिबाट ७ लाखमा सम्पन्न भएको दाबी समेत गरेका छन् ।