नगरसभामा फुङ्लिङ नगरपालिकाका कर्मचारीलाई प्रवक्ताको प्रश्न–कस्ले बोलाएर आएको ?

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका कर्मचारीले बुधवार ‘पेन डाउन’ गरेका छन् । नगरपालिकाको १८ औं नगर अधिवेशनमा नगर प्रवक्ता मोहन न्यौपानेले कर्मचारीमाथि अपमानित र अपहेलित व्यवहार गरेको भन्दै कर्मचारीले बुधवार दिउँसो २ बजेसम्मका लागि ‘पेन डाउन’ गरेका हुन् ।
नरपालिकाका कर्मचारीले विज्ञप्ति नै जारी गरी फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता न्यौपानेले कर्मचारीलक्षित गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति र कर्मचारीको काम तथा कार्यालयको वातावरणलाई प्रभावित गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
नगरसभामा बोल्दै प्रवक्ता न्यौपानेले नगरसभामा कर्मचारीको भूमिका नहुने आशयको अभिव्यक्ति दिएका थिए । नगरपालिकाका सूचना अधिकारी प्रकाश तामाङका अनुसार प्रवक्ता न्यौपानेले नगरसभामा कर्मचारीहरु किन प्रवेश गरेका ? कस्ले बोलाएर आएको ? नगरसभामा उपस्थित भएका कर्मचारीहरुको भूमिका के हो ? जस्ता प्रश्न गरेका थिए । कर्मचारीहरुले उनको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
नगरपालिकाका उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी मध्येबाट नगर कार्यपालिकाले छनौट गरेका कर्मचारीहरुलाई नगरसभामा पुरस्कृत गर्नका लागि आमन्त्रण गरिएका कर्मचारीहरु र नगरसभा सञ्चालन तथा व्यवस्थापन कार्यका लागि खटिएका कर्मचारी नगरसभामा उपस्थित थिए । ती नै कर्मचारीहरुमाथि प्रवक्ता न्यौपानेले अपमानजनक अभिव्यक्ति दिएको सूचना अधिकारी तामाङले बताए ।
कर्मचारीहरुले आफ्ना असन्तुष्टिका विषयमा नगर प्रमुखलगायतलाई जानकारी गराई आवश्यक समन्वय गरिदिन आग्रह गरेकाे समेत सूचना अधिकारी तामाङले जानकारी दिएका छन् । प्रवक्ता न्यौपानेले नगरपालिका कार्यालयमा उपस्थित भएर माफी माग्दै आगामी दिनमा कर्मचारीमाथि अपमानजनक व्यवहार नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुपर्ने कर्मचारीहरुकाे माग छ।
प्रवक्ता न्यौपानेले गल्ती नसच्याए बिहीवार पनि आफूहरुको आन्दोलन जारी रहने नगरपालिकाका कर्मचारीको भनाइ छ । सूचना अधिकारी तामाङले भने, ‘नगर प्रमुखसमक्ष आवश्यक समन्वय गरिदिन आग्रह गरेका छौं । विज्ञप्ति पनि निकालेका छौं । आज २ बजेसम्मलाई काम रोक्यौं । आवश्यक समन्वय नभएमा र प्रवक्ताज्यूले गल्ती नसच्याएमा हाम्रो आन्दोलन जारी रहने छ ।’
कर्मचारीको विज्ञप्ति: